![signature](https://samriddhasamaj.com/wp-content/uploads/2020/06/signature.jpg)
हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु गरिएको छ । आज बिहान हेटौंडा बजारको मुख्यचोक बुद्धचोकमा एक समूहले प्रदर्शन गर्दै हस्ताक्षर संकलन सुरु गरेको हो । आजदेखि सुरु भएको बुद्धचोकमा हस्ताक्षर संकलन अभियान जेठ २९ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म हस्ताक्षर संकलन गरिनेछ ।
हस्ताक्षर संकलन अभियानमा मकवानपुरका अधिकारवादी संघ, संस्था, राजनीतिकर्मी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । यसअघि मकवानपुरका दलित अधिकारवादी संघ, संस्थाको सहभागिता रहेको दलित सञ्जाल मकवानपुरले धर्ना, प्रदर्शन तथा प्रमुख जिल्ला अधिकारी तथा मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य समेत गरेका थिए । रुकुम पश्चिमको चौरजहारीमा दलित केटाले गैरदलित केटीसँग भागी बिवाह गर्न खोज्दा स्थानीयले दलित केटासहित ६ जनाको हत्या गरेका थिए ।