साङ्केतिक तस्बिर गुगल ।

हेटौंडाः मकवानपुरमा आत्महत्याका घटनाहरु भयावह बन्दै गएको छ । जिल्लाभर चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ४३ जनाले आत्महत्या गरेका छन् । पारिवारिक कलह, आर्थिक समस्या, प्रेम सम्बन्धमा असहजतालगायत विविध बहानामा आत्महत्याको प्रयास भएको देखिन्छ । पछिल्लो एक साताको अवधिमा मात्रै ६ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा २८ जना पुरुष, १२ महिला, २ बालक र एक बालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार कार्तिक महिनामा मात्र ६ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाभर १ सय ५५ जनाले आत्महत्या गरेका थिए । कार्तिक ७ गते घरबाट निस्केका मकवानपुरको राक्सिराङ–६ पाततीडाँडाका ३० वर्षीय टेक बहादुर प्रजा सोमबार रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । सोमबार दिउँसो १२ बजेको समयमा स्थानीयले सोही स्थानमा रहेको कागबेली सामुदायिक वनमा प्रजालाई मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यस्तै सोमबार नै बिहान ११ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–२, भालुटारका ३३ वर्षीय सोम बहादुर घलान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आइतबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा हेटांैडा–९, लामसुरेका १६ वर्षीया सुरक्षा चौधरीको कोठामा भुण्डिएको अवस्थामा मृत फेला परेका थिए । यस्तै कात्तिक ७ गते मंगलबार दिउँसो बकैया–४, छतिवनका ५१ वर्षीय नेत्र बहादुर राईले विषादी सेवन गरी आत्महत्या प्रयास गरेका थिए । उनको उपचारको क्रममा कात्तिक ८ गते बुधबार चितवनस्थित अस्पतालमा मृत्यु भएको थियो । यस्तै गत बुधबार बिहान ईन्द्रसरोवर गाउँपालिका–२, टोड्केका ५३ वर्षीय शान्तिलक्ष्मी गोले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए भने गत मंगलबार बिहान मनहरी–९, प्रणामीटोलका २० वर्षीय पुजन गिरी झुण्डिएको अवस्थामा मृत फेला परेको थिए ।

आत्महत्याका घटना उल्लेख्य भए पनि यसको कारण, समाधानमा ध्यान दिनुपर्ने पक्षका विषयमा सरोकारवाला पक्षले ध्यान दिन सकेको छैन । यतिबेला आत्महत्याका कारणलाई केलाउन, समाधानका उपायबारे ध्यान दिन सरकार र समुदाय दुबै तहमा गम्भीरता देखिएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले आत्महत्याका घटनालाई रोकथाम गर्न आवश्यक रहेको बताउनुभयो । अहिले मकवानपुरमा भएका आत्महत्याका घटनामा कुनै खालका संकेत र नोटहरु नभेटिएकाले कारण पत्ता लगाउन गाह्रो भएको उहाँको भनाइ छ । सबै निकायहरुले यस घटनालाई गम्भीरताका साथ लिनुपर्ने उहाँले बताउनुभयो ।

घटनालाई न्युनीकरण गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरेमा केही हदसम्म कम हुने उहाँको भनाई छ । उहाँले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म प्रहरीले आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धी कार्यक्रमहरु २७ वटा सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमबाट १ हजार ३ सय ४१ जना लाभान्वित भएको उहाँले बताउनुभयो । उहाँले केहीदिनपछि विषादी बेचविखन गर्ने व्यवसायीहरुलाई बोलाएर छलफल गरिने बताउनुभयो । विषादीहरु बेचबिखन गर्दा पु¥याउनुपर्ने सावधानी र मापदण्डको बारेमा छलफल गरिने उहाँले बताउनुभयो ।