हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक कात्तिक महिनामा पनि नबस्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाको नियमित बैठक हरेक महिनाको २ र १६ गते बस्ने व्यवस्था गरिएको छ । तर, चालु आर्थिक वर्षको चौथो महिनासम्म पनि नियमित बैठक बस्न सकेको छैन ।
नियमित बाहेक आवश्यकताअनुसार कार्यपालिकाको बैठक बस्न सक्नेछ । कात्तिक २ गते दसैंको व्यस्तताका कारण बैठक नबस्ने अग्रीम सहमति भएको बुझिएको थियो भने कात्तिक १६ गते अर्थात भोलि बिहिबार बस्नुपर्ने बैठकको विषयमा उपमहानगरपालिकाले कार्यपालिका सदस्यलाई सूचित गरेको छैन ।
वडा अध्यक्षहरुले कार्यपालिका बैठकको विषयमा जानकारी प्राप्त नभएको उल्लेख गर्दै बैठक नहुने अनुमान गरेका छन् । “बैठक हुने भए २÷३ दिन अगाडि नै जानकारी आउँथ्यो । यस पटक बैठक नहुने भएर होला अझै जानकारी आएको छैन”, एक वडा अध्यक्षले भने । स्थानीय सरकार सञ्चालन ऐनअनुसार हरेक महिना कम्तिमा एकपटक बैठक बस्नु पर्ने व्यवस्था छ । कार्यपालिका बैठक नियमित बस्न नसक्नुका साथै बैठकका निर्णय पनि सार्वजनिक हुन नसक्नुले उपमहानगरको निरन्तर आलोचना भइरहेको छ ।