गोविन्द घिमिरे
आजबाट सुरु भएको यस बर्षको सोह्र श्राद्ध, पितृमा आस्था र विश्वास राख्नेहरुका लागि पितृसाधनाको सुयोग परेको देखिन्छ ।
सूर्ये कन्यागते श्राद्धं यो न कुर्यात् गृहाश्रमी ।
धनं पुत्राः कुतस्तस्य पितृनिःश्वासपीडनात् ।।
सूर्य कन्या राशिमा हुँदा अर्थात् असोज महिनामा कृष्णपक्षको १५ दिन र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ । पितृहरुको पर्वको रुपमा मनाइने भएकाले यसलाई पार्वण श्राद्ध भनिन्छ भने यो पक्षलाई पितृपक्ष भन्ने गरिन्छ । पुत्रले श्रद्धायुक्त भई दिवङ्गतका लागि सात्विक कर्म गर्नु नै श्राद्ध हो । उचित समयमा उचित स्थानमा उचित विधिद्वारा पितृहरूको उद्देश्य गरेर श्रद्धापूर्वक सत्पात्रमा जुन दिइन्छ त्यही श्राद्ध हो । जसले आफ्ना पितृलाई सम्झेर श्राद्ध गर्दैन त्यसका पितृहरु दुःखको सुस्केरा लगाउँदै धन र सन्तानरहित बनाउँदछन् । असल सन्तानले आफ्ना पिताका लागि जीवनमा तीन कर्म गर्नु पर्दछ भनी श्रीमद्देवीभागवतमा भनिएको छ ।
जीवतो वाक्यकरणात् क्षयाहे भूरिभोजनात् ।
गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता ।
बाँचुञ्जेल पिताले भनेको मान्ने, मृत्युतिथिमा श्राद्ध गरी धेरै प्राणीलाई भोजन गराउने र मृत्युपरान्त पवित्रस्थलमा गएर तीर्थ श्राद्ध ग¥यो भने मात्र असल छोराको कर्तव्य पूरा हुन्छ । सोह्र श्राद्धमा प्रतिदिन पार्वणश्राद्ध गर्नु पर्छ, सकिँदैन भने आफ्नो पिताको तिथिमा एकदिन मात्र भने पनि पार्वणश्राद्ध गर्नुपर्छ । यदि अफ्नो पिताको तिथिमा श्राद्ध गर्न मिलेन भने अष्टमी, द्वादशी, औंसी तिथिमा वा यी दिनमा पनि मिलेन भने १६ दिन मध्ये निषिद्ध तिथिबाहेक अरु कुनै एक तिथिमा या त्यसमा पनि मिलेन भने कार्तिककृष्ण अमावस्या (गाईतिहारे औंसी) वा पितृदिवसमा गर्नु पर्छ ।
श्राद्ध किन गर्ने ?
जसरी कुनै आमाले गर्भपोषणका निम्ति अरुद्वारा दिइएको अन्न उपभोग गरी स्वयंतृप्त हुन्छिन् र आफ्नो गर्भस्थ शिशुलाई पनि तृप्त तुल्याउँछिन् त्यसैगरी देवदत्तादि पितृवर्ग, पिता, पितामह, प्रपितामह आदिले क्रमशः वसु, रुद्र र आदित्य रूपका अधिष्ठातृ देवता मानी पुत्रादिले श्राद्ध गर्दा ती बसु आदि अधिष्ठातृ देवताहरूले पुत्रादिद्वारा दिइएको जल अन्न पान गरी स्वयं तृप्त हुन्छन् । देवदत्त आदि पितृहरूलाई पनि तृप्त तुल्याउँछन् । श्राद्धकर्ता पुत्रादिहरूलाई पनि आयु, सन्तान, धन, विद्या, मोक्ष, सुखादि प्रदान गरेर प्रत्युपकार गर्दछन् ।
यथा गर्भपोषणायान्नदत्तेन संयोजयन्ती (मिताक्षरा–याज्ञवल्क्य)
पूर्वजहरुको रक्तवीर्यादिद्वारा निर्माण भएको यो शरीर शुद्ध राखी सात्विक विचार र व्यवहारलाई अनुशीलन गर्दा आनुवंश्य (जिन) का रुपमा हामीसँगै रहेका पितृअंश प्रसन्न हुने र हाम्रै शरीरलाई विभिन्न प्रकारले लाभ हुने भएकाले अघिल्लो दिनबाटै शरीर र विचार शुद्ध राख्नु पर्दछ । अन्नराज जौ र शक्तिबर्धक तिल पितृस्वरुप पिण्डमा अर्पण गर्नुले पनि पिण्डरुप हाम्रो शरीर जौ तिल जस्ता भक्ष्यपदार्थले परिपाक हुनु पर्दछ र जस्तो ब्रह्माण्ड त्यस्तै पिण्ड (शरीर) हुने भएकोले आफ्नै स्वत्वभित्र पितृको अनुभुति गरियो भने यो सत्वले २७ तत्वको संधान भएको देहको माध्यमद्वारा स्थावर जङ्गमसहित सम्पूर्ण ब्रह्माण्डलाई तुष्टि गरेको ठहर्दछ ।
वागादि पञ्च श्रवणादि पञ्च, प्राणानि पञ्चभ्रमुखानि पञ्च ।
बुद्ध्याद्यविद्यापि च कामकर्मणो, पुर्यष्टकं सूक्ष्मशरीरमाहुः।। -विवेक चूडामणि
पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रीय, पाँच प्राण, आकाशादि पञ्चमहाभूत, अन्तःकरण चतुष्टय (मन, बुद्धि, चित्त, अहंकार) अविद्या, काम र कर्म ३ गरी २७ तत्वमा स्थूल शरीरमा पृथ्वी, पानी, तेज, वायु र आकाशादि पञ्चमहाभूत र पञ्च कर्मेन्द्रिय पर्दछन् भने बाँकी १७ सूक्ष्म शरीर । श्राद्धको माध्यमद्वारा यिनै ब्रह्माण्डिय तत्वहरुको परिपोषण हुुने भएकाले श्राद्ध पितृ तृप्तिका लागि मात्र नभई समग्र जीवजगतको परितुष्टिको व्यवस्था हो । श्राद्धं नाति विस्तारयत् भनेकाले धनी (गरीब सबैले आफ्नो गच्छेअनुसार पितृको श्राद्ध गर्नु पर्छ । श्रद्धाले दिनु नै श्राद्ध भएकोले आर्थिक अभाव भए पनि आफूले सोझो कमाई गरेर ल्याएको शुद्ध धनले किनेको साग मात्र दान गर्नाले पनि श्राद्धपूर्ण हुन्छ र पितृ प्रसन्न हुन्छन् । तस्माच्छ्राद्धं नरः कुर्यात् शाकैरपि यथाविधिः । (धर्मसिन्धुः) जुन कुलपरम्परामा श्राद्ध परित्याग गरिएको छ त्यस्तो कुलमा वीरहरू, निरोगीहरू र लामो आयु भएकाहरू जन्मदैनन् । त्यसैकारण हरेकले आआफ्नो सामथ्र्य अनुसार श्राद्ध गर्नु पर्दछ । व्यक्तिले भक्तिसाथ शाकद्वारा मात्र भए पनि श्राद्ध गरून् । यदि गरिवीका कारण श्राद्धकर्तासङ्ग कुनै सामग्री छैन भने एकान्तमा गई हातका दुवै भुजा आकाशमा उठाएर यो मन्त्रले प्रार्थना गर्नु पर्दछः– न मेऽस्ति वित्तं न धनंचनान्यच्छ्राद्धोपयोग्यं स्वपितृन्नतोऽस्मि। तृप्यन्तु भक्त्या पितरो मया एतौ कृतौभुजौ वर्त्मनि मारुतस्य । (विष्णुपुराण)
हे पितृगण ! मसँग श्राद्धका लागि उपयुक्त धनधान्यादि केही पनि छैन, केवल श्रद्धा र भक्ति मात्र छ । यही श्रद्धा एवम् भक्तिद्वारा म यहाँहरूलाई तृप्त तुल्याउन चाहन्छु, तृप्त हुनुहोस्, शास्त्रको आज्ञा अनुसार मैले दुवै हातलाई आकाशमा उठारहेको छु । मेरो हातभित्र केही छैन, मात्र श्रद्धा अर्पण गर्दछु । यसरी आफैभित्र रहेको पितृभूत अंशको स्मरण गर्दै पुर्खाप्रति सम्मान प्रकट गर्ने पर्वको रुपमा सोह्र (पार्वण ) श्राद आत्मविनयी भएर गर्नु पर्दछ ।
सोह्रश्राद्ध कुन तिथि कहिले पर्छ ?
२०८० असोज (सोह्रश्राद्ध अपरान्हमा गर्नुपर्छ)
१३ गते शनिबार प्रतिपदा श्राद्ध १३ः५९ बजेसम्म तत्पश्चात द्वितीया श्राद्ध । १४ गते आइतबार तृतीया श्राद्ध १२ः१२ पछि । १५ गते सोमबार चतुर्थी श्राद्ध १०ः४४ पछि । १६ गते मंगलबार पञ्चमी श्राद्ध ०९ः४२ पछि । १७ गते बुधबार षष्ठी श्राद्ध ०९ः०७ पछि । १८ गते बिहिबार सप्तमी श्राद्ध ०९ः०१ पछि । १९ गते शुक्रवार अष्टमी श्राद्ध ०९ः२७ पछि । २० गते शनिबार नवमी श्राद्ध १०ः२३ पछि । २१ गते आइतबार दशमी श्राद्ध ११ः४६ पछि । २३ गते मंगलबार एकादशी श्राद्ध, मघाश्राद्ध १५ः३३ सम्म । २४ गते बुधबार द्वादशी श्राद्ध १७ः४० सम्म । २५ गते विहिबार त्रयोदशी श्राद्ध १९ः४२ सम्म । २६ गते शुक्रबार चतुर्दशी श्राद्ध २१ः२८ सम्म । २७ गते शनिबार औंसीश्राद्ध २२ः५३ सम्म ।