हेटौंडाः हेटौंडा–१० स्थित नारायणी कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएर आएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम भएको छ । शुक्रबार कक्षा १२ का विद्यार्थीको आयोजना तथा शिक्षकहरुको व्यवस्थापकीय अभिभावकत्वमा साँस्कृतिक कार्यक्रमसहित नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ ।

करिब ४ सय जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । आफ्ना विद्यार्थीहरुमा भएको गायन तथा नृत्यसम्बन्धी प्रतिभा प्रस्तुत गर्न तथा नयाँ भर्ना भएर आएका विद्यार्थीहरुलाई स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको नारायणी कलेजका शिक्षक तथा कक्षा १२ का संयोजक कमल नेपालले बताउनुभयो । यसअघि कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम र अहिले स्वागत कार्यक्रम गरेको संयोजक नेपालको भनाइ छ ।

स्वागत कार्यक्रमको अवसरमा कक्षा १२ मा अध्यनरत छात्रा गीतादेवी प्रजापतिले प्रस्तुत गरेको चित्रकलाको कदर गरेर उनलाई सम्मान पनि गरिएको संयोजक नेपालले बताउनुभयो । प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणी कलेजको व्यवस्थापन संकाय तथा विज्ञान संकायका शिक्षकहरुको उपस्थिति थियो ।