देशको भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई स्रष्टा भनिन्छ । आफ्नो सिर्जनात्मक लेखन तथा प्रस्तुतिकरणबाट समाजमा जागरण ल्याउन स्रष्टाको भूमिका महत्वपूर्ण मानिन्छ । मुलुकको सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनमा पनि स्रष्टाहरुको योगदान अतुलनीय पाइएको छ । स्रष्टाको सिर्जनामा पाइने परिवर्तनमुखी चेतनाले नेपाली समाजमा जागरण ल्याउन र हरेक व्यक्तिलाई परिवर्तनका निम्ति सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । स्रष्टाले साहित्य, कलालगायत सम्पूर्ण वाङ्मयको समुचित विकासका निम्ति देश र समाजलाई गम्भीर र सचेत बनाउन भूमिका खेलिरहेको भए पनि विभिन्न तहको सरकारले स्रष्टा र साहित्यलाई समुचित महत्व प्रदान गर्न सकेको देखिँदैन । ठूला राजनीतिक परिवर्तनपछि सबै मुलुकले साहित्यलगायत कलाका विविध रुपलाई महत्व दिएर स्रष्टाहरुको भूमिकालाई अझ सिर्जनात्मक र सबल बनाउन रचनात्मक भूमिका निर्वाह गर्ने गरेको भए पनि हाम्रो देशमा भने त्यस्तो वातावरण बन्न सकेको पाइँदैन । राज्यले भाषा, साहित्य, कला, संस्कृति, संगीतलगायत क्षेत्रमा गरिरहेको लगानीबाटै यो कुरा स्पष्ट हुन्छ ।
शुक्रबार मकवानपुरे एक श्रष्टाको निधन भएको छ । मकवानपुरका वरिष्ठ साहित्यकार तथा शिक्षासेवी तुल्सी थापाको उपचारको क्रममा निधन भएको हो । भरतपुर स्थित पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारको क्रममा थापाको निधन भएको थियो । लामो समयदेखि स्मरण क्षमता हराउँदै गएका थापा मुटु, मृगौला र फोक्सोको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना हुनुभएका ७८ वर्षीय थापा वि.सं २००२ साल असोज ३ गते मकवानपुरको भैंसेमा जन्मनुभएको थियो । थापाले आनन्दकुटी विद्यापीठ, स्वयम्भू, काठमाडौंबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट बीए/बीएड सम्मको अध्ययन पूरा गर्नुभएको थियो । वि.सं २०३३ सालमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीबाट शिक्षण सेवा सुरु गर्नुभएका थापाले जनकल्याण मावि पालुङ, कालिका मावि नामटार, कृष्ण मावि भैंसेमा समेत सेवा गर्नुभयो ।
शिक्षण सेवाकै बीचमा थापा तत्कालीन जिल्ला पञ्चायतमार्फत् प्रजा विकास कार्यक्रमको विकास अधिकृतको रुपमा काजमा खटिनुभयो । आर्थिक, सामाजिक, शैक्षिक सबै आधारमा पछाडि परेका चेपाङ समुदायको समग्र विकासका लागि सुरु गरिएको प्रजा विकास कार्यक्रमको नेतृत्व गर्ने क्रममा थापाले चेपाङको बसोबास क्षेत्र मकवानपुर, चितवन र धादिङमा रहेर काम गर्नुभयो । चेपाङ समुदायको चौतर्फी विकासका लागि थापाले निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको थियो । सरकारी शिक्षण सेवाबाट अवकास लिएर थापाले केही समय निजी विद्यालयको नेतृत्वसमेत गर्नुभएको थियो । शिक्षासँगै साहित्य क्षेत्रमा पनि थापाको योगदान महत्वपूर्ण रहेको छ । कथा, कविता तथा नाटक विधामा कलम चलाउनुहुने थापा ‘दाना कविता’ का प्रणेता हुनुहुन्छ । उहाँ भाषा, साहित्य, शिक्षा र सामाजिक सद्भावमा निरन्तर लागिरहेका अग्रज स्रष्टा हुनुहुन्थ्यो । थापाका ‘एक निमेष अनन्तको’ कविता संग्रह, अमरसिंहको खोजीमा अमरसिंह नाटक, फरक आकाश कथा सग्रहलगायत कृति प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित दुई दर्जन पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । उहाँ भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो ।
राजनीतिले जस्तो कला, साहित्यले परिवर्तनका निम्ति सिधै भूमिका खेल्दैन । त्यसैले होला, राजनीतिमा लाग्नेहरुले राज्यबाट विभिन्न सुविधा, अवसर, मान–सम्मान प्राप्त गरिरहँदा स्रष्टाहरुले पाउन सकेका छैनन् । राज्यले भाषा, साहित्य, कलालगायत क्षेत्रलाई अनुत्पादक क्षेत्र मान्ने गरेकै कारण स्रष्टाहरु उपेक्षित बन्नु परिरहेको छ । स्रष्टाको सिर्जनाले मानिसलाई भित्रबाट बदल्दै परिवर्तनको प्रक्रियामा सहयोगी बनाउँछ भन्ने चेत राजनीति गर्ने व्यक्ति र राज्यको उच्च तहमा रहेका प्रशासकमा नआएसम्म स्रष्टाको सम्मान हुन सक्दैन । तीनै तहको सरकारले भाषा, साहित्य र कलाको विकासमा सहयोग गर्दै स्रष्टा र सिर्जनाको समुचित सम्मान गर्नु आवश्यक छ ।