हेटौँडाः आफैँ लुकीछिपी बसी अपहरणको बहाना बनाउने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–५ का ४६ वर्षीय कुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भदौ ३ गते बिहान ११ः३० बजेको समयमा आफ्नो घरबाट हराई परिवारसँग समेत सम्पर्क नरहेको भनी प्रजाको श्रीमती आईती माया चेपाङ्गले प्रहरी कार्यालयमा हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीले प्रजालाई आइतबार बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–४, नयाँबस्तीस्थित सूर्य बहादुर प्रजाको घरमा गई आफैँ लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रजा र सोही गाउँका निर्मल भन्ने सानु बाबु रुम्बा बीचमा आर्थिक लेनदेन रहेको र दुवैजना बीच बादविवाद भएपछि प्रजा हराएको प्रहरीको अनुसन्धानमा खुलेको छ । लुकेर बसेको स्थानबाट पक्राउ गर्ने क्रममा प्रजाले प्रहरीसँग अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । प्रजालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।