हेटौंडाः मकवानपुरमा डेंगु संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । २४ घण्टाको अवधिमा मकवानपुरमा २३ जनामा डेंगु संक्रमण देखिएको हो ।
मकवानपुरमा साउनयता २ सय ७१ जनामा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । आइतबार डेंगु संक्रमण हुनेमध्ये १५ जना हेटौंडा उपमहानगरपालिकाका रहेका मकवानपुर जनस्वास्थ्यका डेंगु फोकल पर्सन नवदीप सिलवाले बताउनुभयो ।
यस्तै, मकवानपुरगढी गाउँपालिकाका र बागमती गाउँपालिकाका ४–४ जनामा डेंगु पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिकामा साउनयता आइतबारसम्म १ सय ८७ जनामा डेंगु भइसकेको छ । जसमध्ये ९५ पुरुष र ९२ महिलामा डेंगु देखिएको सिलवालले बताउनुभयो ।
हेटौंडा अस्पतालमा आइतबार ६ जनामा डेंगु पुष्टि भएको छ । अस्पतालमा २४ घण्टामा ६८ जनाले डेंगु जाँच गराएकामा ५ पुरुष र १ महिलामा डेंगु संक्रमण देखिएको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।