पछिल्ला केही वर्षदेखि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । आम उपभोक्ताको दैनिकीमा प्रभाव पार्ने तरकारीदेखि खाद्यान्न, दुग्धपदार्थ, तेल, मासु, फलफूल सबै उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ । पछिल्ला दिनहरुमा गोलभेँडालगायत मौसमी तरकारी मूल्य पनि निकै वृद्धि भएको छ । दुई दिनअघि मात्रै भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने समाचार बाहिरिएलगत्तै नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । प्याजको थोक मूल्यमै १७ रुपैयाँ वृद्धि भएको समाचार आइरहेको छ । बजारमा मन्दीको अवस्था देखिइरहेको र आम उपभोक्ताको आम्दानी घट्दो दरमा रहँदा दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले उपभोक्ताको दैनिकी नै प्रभावित हुने अवस्था आउन थालेको छ । हरेकको भान्सामा अत्यावश्यक मानिएको आलु, प्याज, गोलभेँडालगायत तरकारीको उच्च मूल्यवृद्धिका कारण आम नेपाली महँगीको मारमा परेका छन् ।
समग्रमा गत आर्थिक वर्ष नेपालीहरुले ७.७४ प्रतिशत मूल्यवृद्धि खेपेको राष्ट्र बैंकको तथ्यांक छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत् रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १०.७० प्रतिशत र दूध, अण्डाको ९.२३ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत् यातायात १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा १०.१८ प्रतिशत, स्वास्थ्यमा १०.०१ प्रतिशत, शिक्षा सेवाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूमा ८.६५ प्रतिशतले महँगी बढेको छ । काठमाडौं उपत्यकाका मानिसहरुले ७.५५ प्रतिशतको मूल्यवृद्धि खेपिरहँदा तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत महँगी देखिएको राष्ट्र बैंकको तथ्यांक छ ।
बजारमा वस्तुको मूल्यलाई माग र आपूर्तिले प्रभाव पारिरहेको हुन्छ । यस्तै, उत्पादन तथा खरिद लागत वृद्धि हुँदा पनि वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । औद्योगिक वस्तुहरुको मूल्य त्यसको लागत र व्यवसायीको नाफामा भर पर्ने भए पनि कृषिजन्य वस्तुको मूल्यलाई माग र आपूर्तिको सन्तुलनले प्रभाव पारिरहेको हुन्छ । तर, नेपाली बजारमा भने सधैं यस्तो देखिँदैन । हामीकहाँ खाद्यान्न, गेडागुडी, तरकारी, फलफूललगायत अधिकांश कृषिजन्य वस्तुहरुको मूल्य बिचौलियाको हातमा देखिने गरेको छ । वस्तुको बिक्री वितरण प्रक्रियामा रहने बिचौलिया (मध्यस्थकर्ता व्यापारी)ले आफ्नो इच्छाअनुसारको मूल्य निर्धारण गरी अर्कोलाई बिक्री गर्दै जाँदा कतिपय वस्तुको मूल्य अस्वभाविक वृद्धि हुने गरेको पाइन्छ । बजारमा व्याप्त अप्रत्यक्ष सिन्डिकेट पनि कृषिजन्य वस्तुको मूल्यवृद्धिको कारण बन्ने गरेको छ । अहिले देखिएको अधिकांश वस्तुको मूल्यवृद्धिमा पनि उत्पादन, माग, आपूर्ति, किसानको लागतभन्दा पनि अन्य कारणहरुकै भूमिका देखिएको छ । सरकारी तथ्यांकभन्दा धेरै गुणा मूल्यवृद्धि भइरहेको भए पनि नियमनकारी निकाय सक्रिय बन्न सकेको छैन । सरकारी नियमनकारी निकायसमेत बजार संयन्त्रमा रहेका बिचौलियाको अगाडि निरिहजस्तै बनिरहेका छन् ।
राज्य संयन्त्रले बजारमा देखिएको हरेक वस्तुको मूल्यवृद्धिको कारण खोजी गर्नुपर्छ । तीनै तहका सरकार र मातहतका नियमनकारी निकायले मूल्यवृद्धिका कारण खोज्दै बजारमा झाँगिदै गएको व्यावसायिक अनुशासनहीनतालाई नियन्त्रण गर्न सक्रियता देखाउनुपर्छ । मूल्यवृद्धि नियन्त्रणमा सरकारी निकायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेकै कारण मनलाग्दी ढंगले महंगी बढिरहेको छ । अत्यावश्यक वस्तु तथा सेवाको मूल्यमा अस्वभाविक वृद्धि हुँदा त्यसको असर एउटा सामान्य परिवारदेखि मुलुककै अर्थतन्त्रसमेत पर्दछ । तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको चिन्ता र असर आम उपभोक्तालाई पर्ने गरेको भए पनि यसले समग्र अर्थतन्त्रमा पनि उत्तिकै असर पारिरहेको हुन्छ । सरकारी नियमनकारी निकायले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नु आवश्यक छ ।