हेटौंडाः हेटौंडा अस्पतालको दन्तरोग विभागमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालको दन्तरोग विभागमा दाँतको उपचार गराउन आउने बिरामीको संख्या पहिलाभन्दा अहिले बढ्न थालेको हो ।
दाँतको समस्या लिएर आउने बिरामीहरु अधिकांश अन्तिम चरणमा आउने गरेको बताइएको छ । बिरामीहरु अस्पतालमा दाँतको उपचार गराउन आउँदा अन्तिम चरणमा पुगिसकेको हुने हेटौंडा अस्पतालका दन्तरोग विशेषज्ञ डा. अस्मित पोखरेलले जानकारी दिनुभयो ।
अस्पतालको दन्तरोग विभागमा पछिल्ला दिनहरुमा औसत दैनिक ४० जना बिरामी आउने गरेका छन् । अस्पतालमा परिपक्व उमेरका बिरामी धेरै दाँत दुखेर आउने गरेको डा. पोखरेलले बताउनुभयो । साथै, बालबालिका र वृद्धहरु दाँत सुन्नेर आउने गरेको उहाँको भनाइ छ ।
बिरामीहरु दाँत हल्लेर, मुखमा घाउ भएर, गिजाबाट रगत आएर, मुख गन्हाएर, दुर्घटनामा परेर, गाला सुन्निएर पनि आउने गरेका छन् । ‘बिरामीले धेरै लापरवाही गरिरहेका छन्’, डा. पोखरेले भन्नुभयो– ‘दाँत बलियो बनाउन ६–६ महिनामा दाँत सफा तथा जाँच गर्नुपर्छ ।’ उहाँका अनुसार सामान्य अवस्थामा नियमित दाँतको जाँच गर्न विरलै आउँछन् ।
दाँत दुख्नुको कारण मौखिक स्वच्छता नभएको, मीठो खाना, कार्बोहाइड्रेडयुक्त खाना, टाँसिने खाना हो । दिनमा दुईपटक दाँतमा ब्रस गर्नुपर्छ । हेटौंडा अस्पतालमा दाँतका ५ जना डाक्टर छन् । डा. पदम नेपाली, डा. अस्मित पोखरेल, डा. अनिसा सापकोटा, डा. रञ्जन शाह र डा. नवीनकुमार चौधरीले दाँतको उपचार सेवा प्रदान गर्दै आइरहेका छन् ।