हेटौँडाः देशव्यापी आव्हान गरिएको शैक्षिक परियोजना प्रतियोगितामा मकवानपुरका दुई शिक्षकको परियोजना उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएका छन् । सूचना प्रविधिको प्रयोग गरी सीमारहित शिक्षाको अवधारणाबारे परियोजना प्रस्तुत गर्नुभएका विवशजंग थापा र विद्यार्थीको लेखन कलालाई प्रोत्साहन गर्नुभएका शिक्षक सरोज लामिछाने क्रमशः प्रथम र द्वितीय घोषित हुनुभएको छ ।
नेपाल शैक्षिक विकास कोषले शनिबार परियोजनाको प्रस्तुतीसँगै प्रथम, द्वितीय र सान्त्वना घोषणा गरेको हो । कोषले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा सामुदायिक विद्यालयका शिक्षकलाई मात्र सहभागिताको अवसर रहेको थियो । झापाको घनश्याम अधिकारीको गणित शिक्षा र धादिङका महिन ओजिन सामाजिक शिक्षाको परियोजना सान्त्वना घोषित भएको छ । प्रथम र द्वितीयलाई क्रमशः एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ भने सान्त्वना हुने दुईजनालाई १०/१० हजार रुपैयाँ पुरस्कार रहेको छ । नेपाल, बेलायत र आयरल्याण्डमा रहेका नेपालीको एउटा समूहले नेपाल शैक्षिक विकास कोष गठन गरेर हरेक वर्ष शिक्षकलाई प्रोत्साहन गर्ने गरी पुरस्कृत गर्दै आएको छ । कोषले दुई महिनाअघि देशभरका शिक्षकहरुलाई परियोजना प्रस्ताव गर्न आव्हान गरेको थियो ।
सूचना प्रविधिमा भएको विकासले सहजै दुई देशका विद्यार्थीबीच सामाजिक, साँस्कृतिक आदानप्रदान तथा शैक्षिक अन्तरक्रियाको सम्भावनालाई आत्मसात गर्दै भर्चुअल माध्यमबाट विद्यार्थीबीच अन्तरक्रियालाई प्रवद्र्धन गर्दै आउनुभएका मकवानपुरका विवश जंग थापा प्रथम हुनुभएको हो । हेटौँडा–५ निवासी अंग्रेजी विषयका शिक्षक विवश जंग थापाले सीमारहित शिक्षासम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको थियो । ८ वर्षअघि हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष माविका विद्यार्थी र भारतको विद्यालयका विद्यार्थीबीच भर्चुअल माध्यमबाट विद्यार्थीबीच अन्तरक्रिया, सामाजिक, साँस्कृतिक प्रस्तुती गराएर थापाले सीमारहित शिक्षाको परिकल्पनालाई व्यवहारमा उतार्नुभएको थियो । दुई वा दुई भन्दा बढी मुलुकका विद्यार्थीबीच एकअर्काको सामाजिक, साँस्कृतिक विषय बुझ्न बुझाउन र आपसमा मनोवल समेत बढाउन पनि सीमारहित शिक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको थापा बताउनुहुन्छ ।
थापाले ४५ वटा देशका विद्यार्थीसँग नेपालका विभिन्न विद्यालयका विद्यार्थीबीच अन्तरक्रिया गराइरहनुभएको छ । मकवानपुर जिल्लामा मात्रै अहिलेसम्म ५० भन्दा बढी निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई विदेशी विद्यार्थीसँग अन्तरक्रिया गराइसक्नुभएको छ । अंग्रेजी विषयको शिक्षक भए पनि सूचना प्रविधिप्रति आफ्नो रुचिकै कारण सीमारहित शिक्षाको परिकल्पनाले साकाररुप लिएको उहाँ बताउनुहुन्छ । आफैंले अनलाइन कोर्ष अध्ययन गर्ने क्रममा सम्पर्कमा आएका विदेशी साथीहरुमार्फत विभिन्न देशका विद्यालयसम्म सम्पर्क विकसित गरी नेपालका विद्यालयका विद्यार्थीबीच अन्तरक्रियाको अभ्यास भइरहेको थापा बताउनुहुन्छ ।
काठमाडौं विश्वविद्यालयबाट अंग्रेजी साहित्य विषयमा एमफिल तहको अध्ययन गरिरहनुभएका थापा हेटौँडा क्याम्पसका अंग्रेजी विषयको प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । थापाले हरेक साता एउटा विद्यालयका विद्यार्थीलाई विदेशी विद्यार्थीसँग अन्तरक्रिया गराउँदै आउनुभएको छ । विद्यालयको चासो र सक्रियताका आधारमा एउटै विद्यालयका विद्यार्थीलाई ५ पटकसम्म विदेशी विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया गराएको स्मरण गर्नुहुँदै थापाले भन्नुभयो, “एक पटकमा नेपालको एउटा विद्यालयका विद्यार्थीलाई ४ देखि ५ वटा देशका विद्यार्थीसँग अन्तरक्रिया गराउने गरिएको छ । बढीमा २ घण्टा विद्यार्थीसँग अन्तरक्रिया गराउने गरिएको छ । २ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी अन्तरक्रियामा सहभागी हुन्छन् ।”
थापाले स्वयम्सेवी शिक्षकको रुपमा नेपालका विद्यार्थीलाई विदेशी विद्यार्थीसँग अन्तरक्रिया गराउँदै आउनुभएको छ । गुणस्तरीय इन्टरनेट र ल्यापटप भए सहजै विद्यार्थीबीच अन्तरक्रिया सम्भव हुन्छ । थापाले प्रभावकारी शिक्षाकै अध्ययन, अनुसन्धानको क्रममा अमेरिकाको भ्रमण गरिसक्नुभएको छ ।
यस्तै हेटौँडा–६, चौघडास्थित बंशगोपाल माविका अंग्रेजी विषयका शिक्षक सरोज लामिछानेको परियोजना दोस्रो भएको छ । ५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीका रचनालाई बंशगोपाल बालवाणी नामक भित्ते पत्रिका २०७५ सालदेखि मासिकरुपमा प्रकाशन गर्दै आएको विषयलाई आफ्नो परियोजनाको रुपमा लामिछानेले प्रस्तुत गर्नुभएको थियो । कथा, कविता, मुक्तक, गाउँखाने कथा जस्ता रचना समावेश गरी भित्ते पत्रिका प्रकाशन गर्ने क्रममा विद्यार्थीमा ज्ञान, सीप, कला र क्षमता विकास भएको लामिछाने बताउनुहुन्छ । विद्यार्थीकै सहभागितामा सम्पादकीय समूह गठन गरी मासिक भित्ते पत्रिका प्रकाशन हुँदै आएको उहाँले बताउनुभयो ।