मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूूपदार्थ वा लागूऔषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूऔषध भनिन्छ । यस्ता लागूऔषधले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानुनद्वारा निषेधित गाँजा, चरेस, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागूऔषध हुन् भने सूर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हुन् । लागूूपदार्थहरुलाई प्राकृतिक र औषधीजन्य गरेर दुई भागमा विभाजन गर्ने गरिएको छ । प्राकृतिकरुपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरु जस्तै– गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी आदिलाई प्राकृतिक लागूपदार्थ भनिन्छ । यस्तै, मानव जीवन रक्षाका लागि बनाइएको औषधिजन्य पदार्थहरु जसलाई चिकित्सकको सल्लाहविपरित नशा लिनको लागि प्रयोग गरिने नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन आदिलाई औषधिजन्य लागूपदार्थ भनिन्छ ।

नेपालमा लागूपदार्थको खेती, उत्पादन, ओसारपसार, बेचबिखन तथा सेवन गैरकानुनी मानिन्छ । प्रहरीले लागूऔषध ओसारपसार, बेचबिखन तथा सेवन गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको छ । हेटौंडाबाट लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरु दिनहुँ पक्राउ भइरहेको पाइन्छ ।भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध हेटौंडा हुँदै राजधानी काठमाडौं तथा देशका अन्य भागमा लैजाने क्रममा हेटौंडाबाट पक्राउ पर्ने गरेका छन् । मकवानपुर तथा अन्य जिल्लामा उत्पादन हुने गाँजा, चरेसजस्ता लागूपदार्थ हेटौंडा हुँदै भारतीय सीमा क्षेत्रमा पुर्याउने क्रममा पनि पक्राउ पर्ने गरेका छन् । कानुनद्वारा निषेधित लागूऔषध कारोबार गर्ने व्यक्तिहरुलाई प्रहरीले चेकजाँचको क्रममा र विशेष सुराकीका आधारमा पक्राउ गर्दै आइरहेको छ । गाँजालगायतका खेती तथा लागूऔषधको ओसार–पसार र बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध निकायहरु क्रियाशील रहे पनियस समस्याको निराकरण हुन सकेको छैन ।

लागूऔ षधको समस्या विश्वभर नै खतरनाक र चिन्ताजनक बनिरहेको छ । विश्वका कूल युवा जनसंख्यामध्ये ५ प्रतिशत युवा पुस्ता लागूऔषधको दुरुपयोगबाट विभिन्न समस्या पर्ने गरेका छन् । लागूऔषधका कारण युवा पुस्ता कुलतमा फस्दै जाँदा यसले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ । कलिला उमेरका बालबालिका र किशोरकिशोरीहरु समेत लागूऔषध दुव्र्यसनमा फस्दा उनीहरुको जीवन बर्बाद बन्ने गरेको छ । लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार, समाज, देश र विश्वमै विविध नकारात्मक प्रभाव परिहेको छ । लागूऔषध नियन्त्रण नहुने हो भने यसले व्यापक समस्या निम्त्याउन सक्ने भएकाले राज्य संयन्त्र गम्भीर बन्नु आवश्यक छ । समयमै लागूऔषध नियन्त्रण गर्न विभिन्न तहका सरकार र सम्बद्ध निकायले दीर्घकालीन रणनीतिक योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नु आवश्यक भइसकेको छ ।

लागूऔषध नियन्त्रणका लागि थुप्रै कानुनी व्यवस्था रहेको छ । कानुनी व्यवस्थाको कार्यान्वयनबाट लागूऔषध कारोबारीलाई पक्राउ गरेर सजायको भागिदार बनाउन सकिने भए पनि सबै कारोबारी पक्राउ पर्ने सम्भावना रहँदैन । लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति तथा गिरोहले अनेकौं उपाय लगाएर सुरक्षा निकायबाट बच्दै लागूऔषधको कारोबार गरिरहेका हुन्छन् । लागूऔषध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै सचेतनामूलक कार्य पनि गर्नुपर्ने देखिएको छ । लागूऔषधसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि विशेष नीति तथा कार्यक्रम तर्जुमा गर्नु आवश्यक छ । सुरक्षा निकायले विभिन्न स्थानमा शंकास्पद व्यक्तिहरुको खानतलासी गरेर वा विशेष सुराकीका आधारमा लागूऔषध बरामद गर्ने र ओसारपसार, बेचविखन र सेवनमा संलग्नलाई पक्राउ गर्नुका साथै यसको गिरोह पहिचान गरेर निर्मूल पार्नु आवश्यक देखिन्छ ।