राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अस्विन लम्सालले प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँलाई ध्यानाकर्षणपत्र बुझाउनुहुँदै ।

हेटौँडाः राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिले हेटौँडा अस्पतालमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै टिकट काउण्टरको व्यवस्था गर्न माग गरेको छ । हेटौँडा अस्पताल सञ्चालक संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिहिबार ध्यानाकर्षणपत्र बुझाउँदै महासंघको प्रदेश समितिले अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै टिकट काउण्टरको माग गरेको हो ।

महासंघले प्रतिष्ठानलाई ५ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको छ । हेटौँडा अस्पतालमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाको सही पहिचान गरी परिचयपत्रका लागि सिफारिस गर्ने व्यवस्था मिलाउन, अपाङ्गता भएका व्यक्तिहरुको खण्डीकृत तथ्याङ्क राख्ने व्यवस्था गर्न, अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न, राज्यबाट सर्वसाधारणका लागि निशुल्क वितरण गरिने १०० प्रकारका औषधिहरु अपाङ्गता भएका व्यक्तिहरुका लागि सरल र सहज ढङ्गबाट उपलव्ध गराउन पनि ध्यानाकर्षण गराइएको छ ।

यस्तै अस्पतालमा सांकेतिक भाषाको ज्ञान भएका व्यक्ति (दोभाषे) को व्यवस्था गर्न, संकेत र चिन्हहरू मापदण्ड अनुसार सजिलै प्रयोग गर्न मिल्ने बनाउन र अस्पताल परिसरमा ट्याक टाइल र ब्रेल अभिमुखीकरण नक्साको व्यवस्था गर्न पनि अपाङ्ग महासंघले ध्यानाकर्षण गराएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अस्विन लम्सालले प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।