मकवानपुर जिल्लाको पुरानो शैक्षिक संस्था हो मकवानपुर टेक्निकल इन्स्टिच्युट । स्वास्थ्य सेवाको क्षेत्रमा मध्यमस्तरको स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने मकवानपुर टेक्निकल इन्स्टिच्युट २०५२ सालमा स्थापना भएको हो । ३ दशकअघि स्थापित इन्स्टिच्युटमा अहिले हेल्थ एसिस्टेन्ट, ल्याव टेक्निसिएन, रेडियोग्राफी र फिजियोथेरापी विषय अध्यापन भइरहेको छ । ४ वटै कार्यक्रम तीन वर्षे हो । एसईई उत्तीर्ण विद्यार्थीले अध्ययन गर्न पाउने स्वास्थ्य सेवाको प्राविधिक विषयमा पछिल्लो समय विद्यार्थीको आकर्षण समेत कम भइरहेको छ । यसै सन्दर्भमा मकवानपुर टेक्निकल इन्स्टिच्युटका प्रिन्सीपल अमिष सुवेदीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः प्राविधिक विषय अध्ययनका लागि यो वर्ष विद्यार्थी भर्नाको स्थिति कस्तो छ ?
सुवेदीः समग्रमा हेर्दाखेरि विद्यार्थीको चाप दुई तीन वर्षदेखि नै केहि प्राविधिक कारणहरु होला, कोरोनापछि जोडिएको केहि आर्थिक कारणहरुले पनि होला, विद्यार्थीको प्राविधिक धारतर्फ अलिकति आकर्षण कम भएको छ ।
समाजः अहिले इन्स्टिच्युटले संचालन गरिरहेका विषयहरु के के छन् ?
सुवेदीः हामीले २०७२ सालदेखि एचए संचालन गर्दै आएका छौं । यस विषय अन्तर्गत बिरामी आउँदा प्राथमिकरुपमा कसरी उपचार गर्ने भन्ने कुरा, मेडिसिन सर्जरी जस्ता कुराहरु पढाएर एउटा मध्यम खालको स्वास्थ्यकर्मी उत्पादन गर्छाै ।
अर्काे तीन वर्षे ल्याब टेक्निसियन र डिप्लोमा ईन रेडियोग्राफी भनेर पोहोर सालदेखि सञ्चालनमा ल्याएका छौं । ल्याब टेक्निसियन अन्तर्गत रगत र दिसा, पिसाब परीक्षण सम्बन्धी प्रयोगशालामा हुने प्रशिक्षणका कुराहरु पर्दछन् । विद्यार्थीलाई हामी तीन वर्षसम्ममा यसमा प्रशिक्षित गर्छाै ।
अनि रेडियोग्राफी जसलाई सामान्य भाषामा भन्नु पर्दा एक्सरे गर्ने टेक्निसियन भन्ने बुझिन्छ, यो पनि छ । यस बर्षदेखि चै हामीले नयाँ एउटा विषयको रुपमा डिप्लोमा ईन फिजियोथेरापी संचालन गरेका छौं । यो चै हाड–नशा सम्बन्धी बिरामीहरुलाई उपचार गर्नका लागि हो । हाम्रो चार वटै संकाय तीन वर्षे छन् ।
समाजः केही वर्ष अघिदेखि चलिरहेको सिएमए र अनमी चै फेज आउट भएको हो ?
सुवेदीः यो चैं सरकारले नै स्वास्थ्य तर्फको १८ महिने प्रि–डिप्लोमा कार्यक्रम सबै नै फेज–आउट गर्ने भनेर निर्णय गरेको हो । त्यही अन्तर्गत हामीले संचालन गर्दै आएको सिएमए, अनमी १८ महिने ल्याब टेक्निसियन तीनै वटा कार्यक्रमहरु फेजआउट भनौं या अपग्रेडिङ अहिले हाम्रो नयाँ विषयहरु थपिएको पनि यहि भएर हो ।
समाजः अहिले एसईई उत्तीर्ण भएका विद्यार्थीले मात्र अध्ययन गर्न पाउँछन् कि एसईई उत्तीर्ण नभएका विद्यार्थीले पनि अध्ययन गर्न पाउँछन् ?
सुवेदीः हाम्रोमा चैं नेपाल सरकार सिटिइभिटिकै नियम अनुसार स्वास्थ्यतर्फको कुनै पनि कार्यक्रमहरु पढ्नका लागि एसईईमा अंग्रेजी, गणित र विज्ञान विषयमा कम्तिमा न्युनतम २ जिपिए ल्याएको हुनु पर्नेछ ।
समाजः पहिले चै एसईई नभईकन टेस्ट परीक्षा मात्र उत्तिर्ण भए पनि पढ्न पाउने थियो । होइन ?
सुवेदीः त्यो चैं अलि अगाडिको व्यवस्था थियो । विगत केहि समयदेखि चैं प्रि–डिप्लोमा पढ्न पनि एसईई उत्तीर्ण नै लिने गरेको छ ।्
समाजः अब अहिले यो नियमले शैक्षिकरुपमा अझ बढि योग्य विद्यार्थीले मात्र यो विषय पढ्न पाउने भयो ?
सुवेदीः विशेषतः डिप्लोमाका स्वास्थ्यमा भएका विषयमा अंग्रेजी, गणित र विज्ञान विशेष हुने गर्दछ । स्तर राम्रो होस् भन्ने उद्देश्यले र गुणस्तरका विद्यार्थी आउन भन्ने उद्देश्यले २ जिपिए हुनुपर्ने नियम राखिएको हो ।