काठमाडौं केन्द्रित आन्दोलनमा मकवानपुरका निर्माण व्यवसायी ।

हेटौंडाः अहिले देशभरका निर्माण व्यवसायीहरु आन्दोलनरत छन् । सरकारले विभिन्न आयोजनासँग सम्बन्धित निर्माण कार्यको रकम भुक्तानी नदिँदा उनीहरुले आन्दोलनको बाटो लिनुपरेको बताएका छन् ।

निर्माण व्यवसायीहरुले साउन ५ गतेको राष्ट्रिय भेलाबाट सुरु गरेको यो आन्दोलनमा देशका सबै जिल्ला र प्रदेशका निर्माण व्यवसायीहरुको प्रतिनिधित्व रहेको छ । व्यवसायीहरुले आयोजनाहरुको करिब १ खर्ब २५ अर्ब रुपियाँ भुक्तानी नपाएको दाबी गर्दै सरकारलाई दबाब दिइरहेका हुन् ।

सरकारबाट सम्पन्न आयोजनाहरुको रकम यथाशिघ्र भुक्तानी पाउनुपर्ने, विभिन्न कारणले आयोजनाहरुको कार्यान्वयनमा ढिलाई भएकोमा ती आयोजनाहरुको म्याद थप्नुपर्ने, निर्माण सामग्रीहरुमा भएको मूल्यबृद्धिअनुसार मूल्य समायोजन गर्नुपर्ने र उपभोक्ता समितिहरु खारेज गर्नुपर्नेलगायत ९ बुँदे माग राखेर निर्माण व्यवसायीहरुले संघीय राजधानीकेन्द्रित आन्दोलन चर्काइरहेका छन् ।