हेटौँडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गरिने भएको छ । गाउँपालिकाको पहलमा एक सयजनालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने गरी सामाजिक सुरक्षा कोषसँग सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामा र कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवालीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई राज्यको सुविधा उपलब्ध गराउने उद्देश्यले भीमफेदी गाँउपालिकाको गाँउसभाबाट स्वीकृत गरेर कोषसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभएको छ । सामाजिक सुरक्षा कोषमा महिला स्वास्थ्य स्वयम्सेविका, कृषि क्षेत्रका मजदुर, दैनिक ज्यालादारी गर्ने व्यक्तिलाई समावेश गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गराउने भीमफेदी गाउँपालिका बागमती प्रदेशमै पहिलो पालिका भएको अध्यक्ष लामाको दावी छ ।
“हामी हाम्रो पालिकाको अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिले पनि राज्यको पेन्सन कार्यक्रमबाट लाभ हासिल गरोस् भन्ने अपेक्षा गरेका छौं”, गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो, “यसरी अनौपचारिक क्षेत्रका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समावेश गराउने भीमफेदी गाउँपालिका प्रदेशकै पहिलो पालिका हो भने देशकै दोस्रो पालिका हो । यसअघि स्याङ्जा जिल्लाको फेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा सहभागी भइसकेको छ ।” चालु आर्थिक वर्षमा भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका व्यक्तिलाई समावेश गराउन १० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले कोषमा सहभागी हुन चाहने श्रमिक, मजदुरको सूचि तयार पारी उनीहरुबाट प्राप्त गर्नुपर्ने योेगदान रकम संकलन गरी पालिकाको तर्फबाट योगदान गर्ने रकम एकमुष्ठ दाखिला गर्नुपर्ने हुन्छ । यस्तै कोषमा योगदान गर्ने श्रमिक, मजदुरको आफ्नो हक, अधिकार दावी गर्दा पालिकाले आवश्यक सहजीकरण गर्नुपर्नेछ । कोष र पालिकाबीचको सम्झौता गर्ने क्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनको पनि उपस्थिति रहेको थियो ।