हिस्टुन मकवानपुरले जारी गरेको प्रेस विज्ञप्ति ।

हेटौँडाः संघीय संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) मकवानपुरले पनि विरोध गरेको छ । यसअघि संस्थागत विद्यालय सञ्चालक, कार्यरत शिक्षक, अभिभावकले पनि शिक्षा विधेयकको विरोध गरेका थिए । हिस्टुन मकवानपुरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबैखाले शिक्षकको मुद्दा उठाउनुपर्ने शिक्षक महासंघले पनि हिस्टुनको विषयलाई नसमेटेको भन्दै दुख व्यक्त गरेको छ ।

हिस्टुन मकवानपुरका अध्यक्ष रमेश रिजालले साविक मावि तहका राहत शिक्षक समान नै शिक्षक महासंघले साविक उच्च माविका राहत शिक्षकको हितमा बोल्नुपर्ने बताउनुभयो । देशभर कार्यरत ६ हजार भन्दा बढी संख्याका साविक उच्च मावि तहका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी नियुक्त गर्ने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने रिजालको भनाइ छ ।

उच्च माविको राहत दरबन्दीमा कार्यरत शिक्षकले एक दशकभन्दा बढी समयदेखि सार्वजनिक शिक्षामा योगदान दिँदै आए पनि अझै सामाजिक सुरक्षा कार्यक्रम समावेश हुन नसक्नु दुखद् भएको उहाँको भनाइ छ । सरकारले कक्षा १२ सम्म विद्यालय तहको शिक्षा भनेर समावेश गरिसक्दा शिक्षक महासंघले साविक उच्च मावि तहका शिक्षकलाई अस्वीकार गरेजस्तो देखिनु दुखद् भएको रिजालको गुनासो छ ।