खेल सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः जिल्लामा तेक्वान्दो खेलको प्रबद्र्धन गर्ने उद्देश्यले मकवानपुर जिल्ला खेलकुद विकास समितिले मकवानपुर जिल्ला तेक्वान्दो संघलाई ५५ हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

हेटौँडा–४, कर्रास्थित तेक्वान्डो संघको कभर्डहलमा एक कार्यक्रमका बीच शनिबार खेल सामग्री हस्तान्तरण गरिएको हो । खेलकुद विकास समितिले २ थान डमी, हेड गार्ड र किकिङ् प्याड लगायतका सामानहरु हस्तान्तरण गरेको तेक्वान्दो संघ मकवानपुरले जनाएको छ । खेल सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला र सदस्य आलोक स्याङ्तान र जिल्ला तेक्वान्दो संघका कार्यसमितिका पदाधिकारीको पनि सहभागिता रहेको थियो ।

खेल सामग्री प्राप्त गरेपछि मकवानपुर तेक्वान्दो संघले जिल्लाभरिबाट खेलाडीहरु छनोटका लागि तेक्वान्दो खेल क्याम्प गर्ने कार्यक्रम रहेको अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो क्याम्प भाद्र महिनामा विभिन्न नगरपालिका र गाउँपालिकामा आयोजना गरिने छ ।