हेटौंडाः चेपाङ समुदायका भूमिहीनहरुलाई भूस्वामित्व प्रदान गर्नेबार शुक्रबार छलफल भएको छ । राक्सिराङ गाउँपालिका–३ का चेपाङ समुदायका प्रतिनिधि र जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रतिनिधिहरुबीच छलफल भएको हो ।

जिसस प्रमुख ललित घलानको कार्यकक्षमा भएको छलफलमा चेपाङ समुदायका सदस्यहरुले भूमि प्राप्ती गर्न जिसस मकवानपुरले पहल गर्नुपर्ने माग गरेका थिए । जिससले के कस्तो पहल गर्दैछ र जिससको पहललाई समुदायले कसरी सहयोग गर्न सक्छ भन्नेबार छलफल भएको बताइएको छ ।

जिसस मकवानपुर उपप्रमुख सानुकाजी लुईंटेलले चेपाङहरुलाई तत्कालीन अवस्थामा स्थानान्तरण गर्ने कार्यमा संलग्न कर्मचारी (हाल सेवानिवृत्त) राजाराम थापासँग छलफल गर्नुभएको थियो । छलफलमा थापाले आवश्यक परेको खण्डमा चेपाङहरुलाई भूस्वामित्व दिलाउन आफूले सहयोग गर्ने बताउनुभयो । जिसस मकवानपुरलाई आवश्यक सूचना तथा भए गरेका प्रक्रियाहरुको विवरण उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

वि.सं २०४७ सालमा हालको राक्सिराङ गाउँपालिका–३, घट्टेखोलामा तत्कालीन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा स्थानान्तरण गरिएको ९ घरधुरी चेपाङको परिवार संख्या बढेर २९ घरधुरी भएको छ । घट्टेखोलामा स्थानान्तरण गर्दा नम्बरी जग्गा व्यक्तिबाट किनेर स्थानान्तरण गरिएको थियो भने जग्गा किन्ने श्रोतको व्यवस्थापन तत्कालीन जिल्ला विकास समितिको समन्वयमा नेपाल सरकारले गरेको थियो । तत्कालीन अवस्थामा जग्गाको स्वामित्वसमेत जिल्ला विकास समितिकै रहेको थियो ।

घट्टेखोलामा बसोबास गर्दै आएको २९ घरधुरी चेपाङहरुलाई तत्कालीन सरकारले दिएको र उनीहरुले विगत ३१ वर्षदेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व पाउँ भन्दै रामचन्द्र प्रजाको नेतृत्वमा भूमिहीन चेपाङ खाद्य अधिकार समूहको टालीले जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाजी लुईंटेल, सदस्यहरु र सहायक जिल्ला समन्वय अधिकारीसमक्ष भेटघाट र छलफल गरेको यो ५ औं पटक हो । प्रत्येक छलफल र भेटघाटमा जिसस मकवानपुरले चेपाङहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि समस्या समाधानमा फलदायी पहलकदमी नभएको भूमिहीन चेपाङ समुदायको भनाइ छ ।

तीन तहको सरकारको उपस्थिति र भूमिहीनलाई एकपटक भूमि दिने व्यवस्था संविधान र विद्यमान कानुनले स्पष्ट पारेता पनि खोरिया कृषि प्रणाली र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने चेपाङहरुको आफूले भोगचलन गर्दै आएको भूमिमाथि स्वामित्व नहुनु आफैंमा विरोधाभाषपूर्ण रहेको बताइएको छ । छलफल कार्यक्रमको सहजीकरण फियान नेपालको प्रदेश संयोजक लक्ष्मी गुरुङले गर्नुभएको थियो ।