गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा २४ घण्टामा ४ जनामा डेंगु संक्रमित पुष्टि भएको छ । डेंगु हुने ४ जना नै हेटौंडा उपमहानगरपालिकाभित्रका रहेका छन् । मकवानपुरमा साउन महिनादेखि शुक्रबारसम्म ६३ जना र हेटौंडा उपमहानगरपालिकाभित्र ५९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा ३२ जना पुरुष र २७ जना महिलामा डेंगु देखिएको जनस्वास्थ्य निर्देशनालयका सार्वजनिक स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो । यस्तै, हेटौंडा अस्पतालमा शुक्रबार ३४ जनाले डेंगु जाँच गराएका छन् ।

जाँच गराएका ३४ जनामध्ये ४ जनामा डेंगु देखिएको हो । २ महिला र २ पुरुषमा डेंगु देखिएको छ । हेटौंडा अस्पतालमा साउन महिनादेखि शुक्रबारसम्म ४० जनालाई डेंगु संक्रमण पुष्टि भएको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।