विद्यालयमा विद्यार्थीलाई सिकाउने भन्दा पढाउने प्रचलन बढी छ । विद्यार्थी सिक्न खोज्छन्, विद्यालयले पढाउन खोज्छ । पढाउने कि सिकाउने भन्ने दोसाँधमा विद्यालयमा विद्यार्थीले शिक्षा हासिल गर्न सकिरहेका छैनन् । विद्यालय पनि आफ्ना विद्यार्थीको ग्रेडसिटमा उच्च अंकमा बढी ध्यान दिइरहेको हुन्छ । यसैसन्दर्भमा विद्यार्थीका मनोभावना र पठनपाठनको विषयमा रहेर समृद्ध समाज दैनिकका लागि संगी लामाले हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूलकमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दिप्ती क्षेत्री र रेमिन्स ढुंगानासँग गर्नुभएको कुराकानीः
समाजः पढाई कस्तो चलिरहेको छ, आफ्नो पढाईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
दिप्तीः अहिले मेरो पढाई राम्रै चलिरहेको छ । अनि घरमा पनि पढ्ने गरिरहेको छु । स्कुलमा पढाउने बेला सर, मेडमहरुले राम्ररी बुझाएर पढाउने गर्नु हुन्छ । सन्तुष्ट नै छु अहिले त ।
समाजः कक्षामा अरु साथीको तुलनामा आफु कत्तिको मिहिनेतले पढेको छु जस्तो लाग्छ ?
दिप्तीः दुई तीन जना भन्दाचैं अलि कम नै छु जस्तो लाग्छ मलाई । तर पनि राम्रै मिहिनेत गर्नेमा पर्छु जस्तो लाग्छ ।
समाजः अब उनीहरुलाई पनि पछि पार्ने गरी पढ्नु पर्यो, के गरेर कसरी पढ्न सकिन्छ त ?
दिप्तीः अब घरमा पनि रुटिन बनाएर पढ्ने योजनामा छु । स्कुलमा पनि राम्रोसँग ध्यान दिएर पढ्ने गर्नुपर्छ भन्ने अठोट लिएकी छु ।
समाजः अनि पढिएका विषयहरुमध्ये कुन विषय चै प्रभावकारी लाग्छ तपाईका लागि, या भनौं तपाईको मनपर्ने विषय कुन हो ?
दिप्तीः मलाई नेपाली विषय मन पर्छ ।
समाजः नेपाली विषय नै मन पर्नुको कारण के हो ?
दिप्तीः नेपाली पहिलेदेखि बोलिरहेको हुँदा सजिलो लाग्छ । नेपालीको अभ्यास घरमै पनि धेरै हुने गर्छ । अनि म मेरो दैनिकी लेख्ने पनि गर्छु । त्यसैले नेपाली सजिलो लाग्छ ।
समाजः सबैभन्दा गाह्रो चै कुन विषय लाग्छ, र किन ?
दिप्तीः ‘सोसल’ गाह्रो लाग्छ । किनकी धेरै लेख्दा पनि नम्बर थोरै आउँछ । थोरै समय हुने भएकोले सोसलमा लेखेरै भ्याइँदैन ।
समाजः कक्षामा अरु विद्यार्थीको तुलनामा आफुलाई कुन श्रेणीमा राख्न रुचाउनु हुन्छ ?
रेमिन्सः यो कुरामा घमण्ड त गर्नु हुँदैन । तैपनि मलाई लाग्छ मेरो कक्षाको दुईटै सेक्सनबाट म नै अगाडि छु ।
समाजः विद्यार्थीको पढाईलाई ध्यानमा राखेर हेर्दा विद्यालयको पढाईमा फाईदा पुर्याउने कस्तो खालको वातावरण छ जस्तो लाग्छ ?
रेमिन्सः तुलसी मेहर एउटा राम्रो स्कुलकोरुपमा चिनिन्छ । तुलसी मेहर २०३८ सालबाट निरन्तर चलिरहेको छ । नेपालको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा थुप्रै योगदान गरिसकेको छ । हाम्रो स्कुलको ‘ईन्भाईरोमेन्ट’ एकदम राम्रो छ, ‘एक्टीभिटिज’हरु राम्रो छ । शिक्षकहरुसँग ‘ईन्टर्याक्ट’ गर्नलाई छुट्टै सेक्सन छ । यस्ता थुप्रै कुराहरु छन् । त्यसैले फाईदाकै कुराहरु धेरै छन् ।
समाजः स्कुलमा सुधार्नु पर्ने कुरा के देख्नुहुन्छ ?
रेमिन्सः स्कुलले सुधार्नु पर्ने कुरा भनेको विद्यार्थीलाई घोकाउने मात्र होईन, ‘प्राक्टिकल नलेज’ मा ध्यान दिनुपर्छ । त्यसलाई बुझाएर अझ धेरै राम्रो गर्नु पर्छ ।
समाजः कुन शिक्षक हुनुहुन्छ, जसले विद्यार्थीको मनस्थितिलाई बुझेर राम्रोसँग पढाउने गर्नु भएको छ ?
रेमिन्सः विकेश लामा सर हुनुहुन्छ । उहाँले अंग्रेजी पढाउनु हुन्छ । उमेरले उहाँ हामी भन्दा ठुलै हुनु भएपनि विद्यार्थीको मनोभावनालाई बुझेर पढाउनु हुन्छ ।
समाजः एउटा राम्रो शिक्षकमा के कस्तो गुण हुन जरुरी छ ?
दिप्तीः अलि बुझाएर पढाउनु पर्यो । घोकाउनु भन्दा धेरै बुझाउनु पर्यो । विद्यार्थीसँग ‘फ्रेण्डली ईन्भाईरोमेन्ट‘मा बोलिदिनु पर्यो । तर्साउनु भन्दा हाम्रो भविष्यका लागि हो भनेर बुझाउन सक्नु पर्यो ।
समाजः स्कुलबाट कुनै खेलकुद प्रतियोगितामा भाग लिन लैजाने गरेको छ कि छैन ?
दिप्तीः लैजानु हुन्छ तर मैले चैं खेलहरुमा भन्दा पनि क्विजहरुमा भाग लिने गरेको छु ।