भेलामा सहभागी अध्यक्ष र उपाध्यक्षहरु ।

हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका अध्यक्ष र उपाध्यक्षको एकदिने भेला शुक्रबार हेटौँडामा भएको छ । भेलामा सहभागी अध्यक्ष र उपाध्यक्षले सहकारी संस्थामा विनियम बमोजिमको अध्यक्ष र उपाध्यक्षको काम, कर्तव्य र अधिकार पूर्णरुपमा पालना गर्नेसहित ७ बुँदे प्रतिवद्धतापत्र जारी गरेका छन् ।

प्रतिवद्धतापत्रमा सहकारी संस्थाका सदस्यका लागि सहकारी शिक्षा कोषलाई परिचालन गरी व्यापकरुपमा सहकारी शिक्षाका साथै सीपमूलक कार्यक्रमहरु संचालन गर्ने, सहकारी ऐन २०७४ मा व्यवस्था भए बमोजिम विनियम संशोधन तथा पुनर्लेखन गर्ने, लेखापरीक्षण, वार्षिक साधारण सभा तोकिएको समयावधि भित्र सदस्य केन्द्रित बैठकको रुपमा संचालन गरी वार्षिक योजना तथा बजेट अनिवार्यरुपमा साधारण सभाबाट स्वीकृत गराउने उल्लेख गरिएको छ ।

यस्तै कोपोमिस र सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका २०७४ बमोजिम संस्थाका कामलाई अद्यावधिक गर्ने, आवश्यक नीति तर्जुमा तथा समय सापेक्ष संशोधन गर्दै नीतिगत व्यवस्था अनुसार नविनतम प्रविधि अवलम्वन गरी संस्थालाई स्वनियमन र सुशासनमा संचालन गर्ने र पल्र्सको मापदण्डअनुसार वित्तीय प्रतिवेदनलाई व्यवस्थापन गरी ऋण जोखिम कोष पूर्णरुपमा व्यवस्थापन गर्दै वित्तीय विवरणहरु दैनिक रुपमा प्रविष्टि गरी अद्यावधिक गर्ने प्रतिवद्धता गरिएको छ ।

सहकारीको वार्षिक समीक्षा गर्ने, साधारणसभाको तयारी गर्ने, प्रतिवेदनहरु तयार पार्ने समयमा अध्यक्ष र उपाध्यक्षलाई जिम्मेवार बनाउँदै प्रारम्भिक संस्थालाई सवल बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । देशका विभिन्न स्थानमा सहकारीका कारोबारमा समस्या देखिएर सदस्यहरु त्रसित भइरहेको सन्दर्भमा जिल्लामा रहेर संघमा आवद्ध प्रारम्भिक संस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने जिम्मेवारी बुझेर पनि भेलाको आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो । संघमा आवद्ध एक सयभन्दा बढी प्रारम्भिक संस्थाका अध्यक्ष, उपाध्यक्षको भेलामा सहभागिता रहेको थियो ।