चिउरी बगैँचा रंगशाला परिसरमा वृक्षरोपण गरिँदै ।

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–४ स्थित चिउरी बगैँचा रंगशाला परिसरमा चिउरीका बिरुवा रोपिएको छ । ४ नम्बर वडाको केन्द्रको नाम नै चिउरी बगैँचा भए पनि चिउरीको रुख, बिरुवा नभएको सन्दर्भमा वडाले चिउरीको बिरुवा रोपेको हो । चिउरी स्वादिलो फल भएकोले भोलिका दिनमा स्थानीयले फल सेवन गर्न पाउने अपेक्षासहित वृक्षरोपण गरिएको वडा अध्यक्ष सागर पाण्डेले बताउनुभएको छ ।

शुक्रबार चिउरी बगैँचा रंगशाला पसिरसमा १४ वटा चिउरीको बिरुवा रोपिएको छ । यस्तै २२ वटा विरुबा अन्य प्रजातिका छन् । डिभिजन वन कार्यालय मनहरीबाट चिउरीका बिरुवा ल्याइएको वडाअध्यक्ष पाण्डेले बताउनुभयो । चिउरी बगैँचा रंगालामा फुटबल मैदान तयार गरी रंगशालामा प्यारापिट बनाउने र तारजालीले घेराबार गर्ने काम गरिएको छ । चालु आर्थिक वर्षका लागि प्यारापिट निर्माण र गेट निर्माणका लागि गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको छ ।

वृक्षरोपण कार्यमा स्थानीय समुदायको पनि सक्रिय सहभागिता रहेको थियो । वृक्षरोपणमा वडा अध्यक्ष पाण्डेसहित वडा सदस्य रामकृष्ण थापा, केशव लामा, गंगा सुनुवार चन्द्रमाया आलेको पनि सहभागिता रहेको थियो । यस्तै शनिबार स्थानीय बाराही पार्क परिसरमा २२ थान कपुर, अशोक, बकाइनालगायतका बिरुवा रोपिएको छ । करिब ८ कठ्ठा क्षेत्रफल रहेको बाराही पार्कलाई आकर्षक बनाउने तयारी भइरहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । वडाले हरेक साताको शुक्रबार र शनिबार वृक्षरोपण गर्ने योजना बनाएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । आउँदो शुक्रबार र शनिबार स्थानीय गुप्तेश्वरी मन्दिर परिसर र चिउरी बगैँचा गुम्बामा वृक्षरोपण गर्ने कार्यक्रम रहेको छ ।