सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीका लागि बस सेवालाई महत्व दिन थालेका छन् । विगतमा निजी विद्यालयले विद्यार्थीको सुविधाका लागि विद्यालय बस सेवा उपलब्ध गराउँदै आएकोमा पछिल्लो समय सामुदायिक विद्यालयहरुसमेत बसे सेवा सञ्चालनमा अग्रसर बनेका हुन् । निजी विद्यालयले टाढाका विद्यार्थीलाई आफ्नो विद्यालयमा आकर्षित गर्न बस सेवा सञ्चालन गर्ने गरेको भए पनि सामुदायिक विद्यालयहरुले भने टाढाबाट हिँडेर विद्यालय आउन बाध्य विद्यार्थीको सुविधाका लागि बस सेवा सञ्चालन गरेका छन् । घर नजिक विद्यालय नभएका कारण घण्टौं हिँडेर नजिकको विद्यालय जान बाध्य ग्रामीण भेगका विद्यार्थीका लागि सामुदायिक विद्यालयले सञ्चालनमा ल्याएको विद्यालय बसले धेरै राहत दिन थालेको छ । विद्यालय टाढा भएकै कारण सास्ती भोगिरहेका विद्यार्थीलाई विद्यालय बसले निकै सुविधा दिएको छ । यसले बीचमै पढाइ छाड्नुपर्ने समस्यालाई पनि कम गर्ने सम्भावना बढाएको छ । विशेषगरी ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरुमा टाढा–टाढाबाट विद्यार्थी पढ्न आउनुपर्ने बाध्यता रहने भएकाले बस सुविधाले विद्यार्थीको नियमितता र शिक्षण सिकाईमा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
सामुदायिक विद्यालयहरुमा बस सेवा सञ्चालन गर्न बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गर्दै आएको छ । मन्त्रालयले पछिल्ला केही वर्षदेखि प्रदेशका विभिन्न जिल्लामा रहेका माध्यमिक विद्यालयहरुलाई निश्चित मापदण्डको आधारमा विद्यालय बस उपलब्ध गराउँदै आएको छ । विद्यालयको विद्यार्थी संख्या तथा सेवा क्षेत्रका आधारमा मन्त्रालयले बस उपलब्ध गराउने गरेको छ । मन्त्रालयले भन्सार सहुलियतमा विद्यालय बस खरिद गरी विद्यालयलाई उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा पनि सामाजिक विकास मन्त्रालयले मकवानपुरका ५ वटा विद्यालयलाई बस उपलब्ध गराएको छ । ४२ सिट क्षमताको प्रतिबस २५ लाख रुपैयाँको अनुदानमा विद्यालयलाई उपलब्ध गराएको हो । गत वर्ष मन्त्रालयले मकवानपुरगढी, बागमती र इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका एक–एक विद्यालयलाई बस उपलब्ध गराएको हो । मकवानपुरगढीको चण्डिका मावि, बागमतीको जनता मावि, इन्द्रसरोवरको सरस्वती बालबोधिनी मावि, थाहाको बागेश्वरी मावि र हेटौंडाको महेन्द्र माविले प्रदेश सरकारको अनुदानमा एक–एक वटा विद्यालय बस प्राप्त गरेका छन् ।
विद्यालयले बस सेवा सञ्चालन गरेपछि दैनिक ६ घण्टासम्म पैदलयात्रा गरेर विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थीलाई सुविधा पुग्ने भएको छ । बस सुविधापछि टाढाबाट विद्यालय आउने विद्यार्थीले पैदलयात्रा गर्नुनपर्ने भएको छ । सकेसम्म विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी बस सेवा सञ्चालन गर्ने विद्यालयहरुको योजना रहेको छ । ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क बस सुविधा उपलब्ध गराउन विभिन्न संघसंस्था र स्थानीय तहको सहयोग पाउने विश्वास विद्यालयको छ । बस सेवा सञ्चालनका लागि वार्षिक दशौं लाख खर्च गर्नुपर्ने अवस्था रहेकाले बाह्य सहयोग नजुटाई विद्यालयहरुले बस सेवा सञ्चालन गर्न सक्ने अवस्था छैन ।
पछिल्लो समय सामुदायिक विद्यालयहरुमा बस सेवा थप हुँदै जानु खुशीको कुरा हो । यसले विद्यार्थीको विद्यालय आउने जाने समय बचत गर्नुका साथै विद्यार्थी तथा अभिभावकलाई निश्चिन्तता प्रदान गर्दछ । तर, विद्यालय बस थप हुँदै जाँदा यसको प्रभावकारी सञ्चालन खर्चसँगै यसबाट उत्पन्न हुने जोखिमलगायत अन्य पक्षहरुको उचित व्यवस्थापन आवश्यक पर्छ । अन्य विद्यालय नजिकका विद्यार्थीलाई आकर्षित गर्न बस सेवा सञ्चालन गर्नु हुँदैन । विद्यालयको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालन हुनुपर्छ । यसका लागि विद्यालय बस सेवाको उचित व्यवस्थापनको दायित्व स्थानीय तहले लिँदा राम्रो हुन्छ । बस सुविधा दिइरहेका पालिकाभित्रका विद्यालयहरुको बसको रुट निर्धारण र खर्च व्यवस्थापनसँगै स्थानीय सरकारले आवश्यकताका आधारमा पालिकाभित्रका जुनसुकै विद्यालयका विद्यार्थीले प्रयोग गर्न पाउने गरी विद्यालय बस सञ्चालनको व्यवस्थापन गर्नु आवश्यक छ ।