फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा रक्तसञ्चार केन्द्रले एक महिनामा ३ सय २७ जनाबाट रगन संकलन गरेको छ । विभिन्न संस्थाले आयोजना गरेको कार्यक्रम तथा रक्तसञ्चार केन्द्रमै पुगेर ३ सय २७ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक प्रसाद दाहालले जानकारी दिनुभयो ।

असार महिनामा ७ वटा संघ, संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । असार ३ गते अस्तित्व व्याण्डले हेटौँडा–८, कमानेमा, असार ४ गते पतञ्जली जिल्ला योग समिरअति र हेटौँडा उपमहानगरपालिका कार्यालयले, असार ५ गते राष्ट्रिय स्वतन्त्र पार्टीले, असार ७ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले, असार ९ गते लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कले, असार १६ गते लायन्स क्लब अफ मुक्तिनाथ र असार २९ गते नवोदय शिशु सदनले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

केन्द्रबाट असार महिनामा जेष्ठ महिनाको केहि स्टकसँगै ४ सय ४७ पिन्ट रगत वितरण भएको छ । अहिले रक्तसञ्चार केन्द्रमा ओ पोजेटिभ रगत बाहेक अरु सबै रगतको स्टक रहेको छ । संघ, संस्थाले रक्तदान कार्यक्रम गरिरहेको कारणले केन्द्रमा रगतको अभाव नभएको केन्द्रले जनाएको छ । सेतो रगतको कमि भएको बेला सेतो रगतका लागि केन्द्रको इमर्जेन्सी रक्तदातालाई बोलाइने गरिएको छ । असार महिनामा ४६ जनाले केन्द्रमै पुगेर रक्तदाता गरेका छन् ।