हेटौंडाः नेपाल राहत शिक्षक समिति बागमती प्रदेश अध्यक्षमा जीवन तिमल्सिना चयन हुनुभएको छ । शनिबार भएको समितिको दोस्रो अधिवेशनबाट तिमल्सिनाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको वरिष्ठ सहअध्यक्षमा निरव ढकाल, खुलातर्फको उपाध्यक्षमा शान्ता आले, महिलातर्फ उपाध्यक्ष राधा पोखरेल, महासचिवमा राजिन भट्टराई, उपमहासचिव खुल्लातर्फ राजेन्द्रकुमार श्रेष्ठ, महिलातर्फ छमकली बस्नेतलाई चयन गरिएको छ । कोषाध्यक्षमा लालबहादुर घिसिङ, सहकोषाध्यक्षमा रामबाबु पौडेल ,सचिव खुल्लातर्फ देवबहादुर गुरुङ, सचिव महिलातर्फ सपना अधिकारी चयन हुनुभएको छ ।

नेपाल राहत शिक्षक समिति बागमती प्रदेशका अध्यक्ष बासु अधिकारीको सभाध्यक्ष तथा नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अध्यक्ष अधिकारीले शिक्षा ऐेनबारे सामाजिक सञ्जालमा आएको टीकाटिप्पणी बतासे भएको आरोप लगाउनुभयो । केन्द्रीय समिति कमजोर नभएको बताउनुहुँदै उहाँले सरकारको कुनै आधिकारिकताबिना सामाजिक सञ्जालमा आएको शिक्षा ऐनको कुरा बतासे भएको बताउनुभयो ।

ऐन बन्नलाई मन्त्रिपरिषद् बैठकबाट पारित भई संसदमा टेबुल हुनुपर्ने भन्दै अध्यक्ष अधिकारीले विधेयकको रुपमा संसदमा पेस भएपछि उक्त विधेयकबारे चर्चा गर्नु उचित हुने बताउनुभयो । अहिलेको नेपाल शिक्षक महासंघ अवैधानिक र निरिह रहेको उहाँले दावी गर्नुभयो । कार्यकाल सकिएर पनि अधिवेशन गर्न नसकेको महासंघ कानुनीरुपमा वैधानिक नहुने उहाँको भनाइ छ । शिक्षक महासंघले आधिकारिक संस्था बनेर सबै प्रकारका शिक्षकको हित हुनेगरी शिक्षा ऐेन ल्याउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

राहत शिक्षक समितिको केन्द्रीय महासचिव कुमार बजगाईले कतिदिन विचरा शिक्षक भन्दै हिँड्ने भन्नुहुँदै अब राहत शिक्षकको आन्दोलन आक्रमक हुने दावी गर्नुभयो । उपमहासचिव डम्बर राईले राहत शिक्षकहरुको मागलाई बेवास्ता गरिए कडा आन्दोलन गर्ने बताउनुभयो । राहत शिक्षकलाई पनि स्थायी शिक्षकसरह सेवा सुविधा नदिए कडारुपमा आन्दोलनमा उत्रिने उहाँको भनाइ छ ।