एसईईको नतीजा बिहिबार सार्वजनिक भयो । एसईईलाई जति सहज बनाउँदै लैजाने भने पनि यसप्रति सरोकारवालाको चासो घटेको छैन । विद्यालय तहको शिक्षाको एउटा महत्वपूर्ण मापकको रुपमा एसईई रहँदै आएको छ । एसईईको समग्र नतीजा र विद्यार्थी, अभिभावकले ध्यान दिनुपर्ने विषयमा रहेर समृद्ध समाज दैनिकका लागि सुमिना चौलागाईले हेटौँडा–२ स्थित सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्मासँग गर्नुभएको कुराकानीः

मकवानपुर जिल्लाको एसईईको नतिजालाई समग्रमा कसरी हेर्न सकिन्छ ?
शर्माः
समग्र देशभरिकै एसईईको नतिजामा गत वर्षहरुमा भन्दा तुलनात्मक रुपले यो वर्ष सुधार भएको छ । मकवानपुर जिल्लामा पनि सकारात्मक नतिजा आएको मैले महसुस गरेको छु ।

एसईईको नतिजालाई हेर्दा मकवानपुर जिल्लाको चुनौतीहरु के के छन् ?
शर्माः
मकवानपुर जिल्लाको चुनौती र राष्ट्रिय चुनौती करिब मिल्दोजुल्दो छ । अहिलेको वातावरण, पाठ्यक्रम र मूल्यांकन विधिबीचको तालमेल नमिल्नु पहिलो चुनौती हो । पाठ्यक्रमले विद्यार्थीको व्यवहारिक सिकाईलाई बढी जोड दिएको छ तर मूल्याकंन पद्दति योसँग मेल खाने खालको छैन । पछिल्लो समय विद्यालय तहदेखि कलेज तहसम्मका विद्यार्थीको पठन संस्कृतिमा धेरै गिरावट आएको छ, यो पनि अर्काे चुनौती हो । कतिपय विद्यालयहरुमा अझैपनि विषयगत शिक्षकहरुको अभाव देखिन्छ । दरबन्दी भएर विज्ञापन गरेपनि महिनौंसम्म पनि पदपूर्ति हुन नसकेको अवस्था छ । जसले गर्दा विद्यार्थीले समयमै अध्ययनलाई पूरा गरी तयारी गर्न नसकिरहेको छ ।

यस वर्षको सिद्धार्थ माविको एसईईको नतिजा समग्रमा कस्तो रह्यो ?
शर्माः
सिद्धार्थ माविको नतिजा एकनास नै छ । सिद्धार्थले अहिलेसम्म त्यस्तो नराम्रो नतिजा ल्याएको छैन । बजारमा ए प्लस ल्याएको विद्यालयले मात्र राम्रो नतिजा ल्यायो भन्ने चलन छ । तर ए प्लस नल्याउँदैमा त्यो विद्यालयको नतिजा नराम्रो भन्ने हुँदैन । सिद्धार्थको यसपालिको नतिजालाई समग्रमा हेर्दा गत वर्षको तुलनामा राम्रो आएको छ ।

पहिलाको भन्दा अहिलेको नतिजामा सुधार गर्नका लागि तपाईहरुले के–के कुरामा जोड दिनुभयो ?
शर्माः
नतिजालाई राम्रो ल्याउनका लागि दक्ष विषयगत शिक्षक, सामूहिक कार्य, नियमित अभ्यास, र विद्यार्थीलाई सकारात्मक उत्प्रेरणाको आवश्यकता हुन्छ । दक्ष शिक्षकहरुको समूह र विद्यालय प्रशासन मिलेर हामीले पनि गत वर्षभन्दा राम्रो नतिजा ल्याउनका लागि प्रत्येक हप्ताको शुक्रबार वा शनिबार मोडेल प्रश्नहरुलाई राखेर नियमित अभ्यास गरायौँ । विद्यार्थीहरुलाई समय–समयमा सकारात्मक उत्प्रेरणा दियौँ ।

अहिले एसईईमा उत्तीर्ण भाइबहिनीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
शर्माः
सर्वप्रथम अहिले एसईईमा उत्तीर्ण सम्पुर्ण भाइबहिनीहरुलाई बधाई दिन चाहान्छु । खासगरी विद्यार्थीहरु कक्षा ११ मा के पढ्ने, कुन विषय रोज्ने, कहाँ गएर पढ्ने भन्ने कुरामा बढी अलमलमा परेको देखिन्छ । त्यो कुुरामा सर्वप्रथम भाइबहिनीहरुले आफ्नो रुचिको क्षेत्र पहिचान गर्नुपर्छ । आफ्नो घरपरिवार, साथीभाई, छिमेकीले के भन्यो भन्दा पनि आफ्नो रुचिको क्षेत्र पहिचान गरेर कहाँ गएर कुन विषय पढ्दा आफुलाई राम्रो हुन्छ भन्ने कुरा बुझ्नुपर्दछ ।

विद्यार्थीको राम्रो शिक्षाका लागि अभिभावकले कुन–कुन पक्षमा बढी जोड दिनुपर्छ ?
शर्माः
विद्यार्थीको राम्रो शिक्षाका लागि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । हरेक अभिभावकले आफ्ना बालबालिकाको इच्छा के छ, त्यो बुझ्नुपर्छ । अभिभावकले आफ्नो आर्थिक अवस्थाको ख्याल गरी कुन विद्यालय पढाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्दछ । ठूलो भवन र धेरै विद्यार्थी भएको विद्यालय मात्र राम्रो हुन्छ भन्ने सोच हटाई कुन विद्यालय पढाउँदा राम्रो हुन्छ त्यसैअनुसार निर्णय लिन सक्नु पर्दछ ।