हेटौँडाः अनुदान रकम रोकेको भन्दै चितवन जिल्लाका दुग्ध उत्पादन किसानहरुले बागमती प्रदेशको कृषि मन्त्रालयमा धर्ना दिएका छन् । आइतबार बिहान चितवनका दुग्ध उत्पादन किसानहरुले मन्त्रालय घेराउ गर्दै गेटमा धर्ना दिएका हुन् ।
प्रदेश सरकारले चितवनका ३ स्थानीय तहलाई दुधमा दिँदै आएको अनुदान रोकेको किसानहरुको आरोप छ । स्थानीय सरकारले पनि दुधमा अनुदान दिएको भन्दै प्रदेश सरकारले दिँदै आएको अनुदान रोकेको बताइएको छ । प्रदेश सरकारले दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिँदै आएको छ । स्थानीय सरकारले पनि दूध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिँदै आएको जनाएको छ ।
उनीहरुले दुग्ध उत्पादन किसानहरुले प्रदेश सरकारले रोकेको रकम दिनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभएसम्म आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने किसानहरुले बताएका छन् । उनीहरुले किसान मार्न पाईदैन, कृषि मन्त्री राजिनामा दे, किसान ठग्न पाइँदैन, दूध उत्पादन अनुदान कायम गर भन्दै नारा लगाएका छन् ।