सम्झना अधिकारी
भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । विगत केही वर्षको नतिजाको स्तरलाई तोड्दै यो वर्षको नतिजामा केही सुधार देखिएको छ । जसमा कुल ४ लाख ८३ हजार ५६५ विद्यार्थीहरुमध्ये २२ हजार ४७५ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् । जुन कुल परीक्षार्थीको ४.६३ प्रतिशत हुन आउँछ । त्यसैगरी ११.३६ प्रतिशत विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् भने १४.९२ प्रतिशत विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । सबैभन्दा बढी २१.०९ प्रतिशत विद्यार्थीले २ देखि २.४ जीपीए ल्याएको परीक्षा बोर्डले सार्वजनिक गरेको छ । विद्यार्थी र विद्यालयको समग्र शैक्षिक अवस्थाको मापन गर्न गतिलो सूचकको रुपमा लिइँदै आएको एसईईको नतिजा सार्वजनिक भएपश्चात् अभिभावक, साथीभाइ, आफन्त नातागोता सबैको ध्यान एसईईको नतीजामा केन्द्रित हुनुले पनि यस विषयलाई अलि बढी महत्वपूर्ण बनाएको छ ।
यो नतिजालाई नै आधार बनाउँदै सामुदायिकदेखि संस्थागत विद्यालयसम्मले पनि आआफ्नो परिचय दिन व्यस्त देखिन्छ । यसरी विद्यालयले आफ्नो परिचय दिँदै गर्दा राम्रो नतिजा हासिल गर्ने विद्यालयले उपलब्धीसहित प्रस्तुत गरेका छन् । मध्यम र न्यून उपलब्धि हासिल गर्ने विद्यालयले आ–आफ्नै तरिकाले जानकारी दिएको देखिएको छ । केही अभिभावकले त यही नतिजाकै आधारमा आगामी शैक्षिकसत्रमा आफ्नो बालबालिकालाई अब कता भर्ना गर्ने ? भन्ने योजना बनाउन पनि सुरु गरेका छन् भने केही अभिभावकले भने आफूले सही विद्यालयमा आफ्नो बालबालिका भर्ना गरेकोमा ढुक्क भएका छन् ।
विगतको वर्षको तुलनामा यसवर्ष सामुदायिक विद्यालयको नतिजामा पनि सुधार देखिएको छ । जसले विद्यालयको भौतिक अवस्थामा गरिएको सुधारले बालबालिकाको पठनपाठनमा सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने संकेत दिएको छ । वास्तवमा भन्ने हो भने भूकम्पपछि सामुदायिक विद्यालयको पुनःनिर्माणले विद्यालयको कक्षाकोठादेखि प्रविधिको पहुँचमा समेत सहजता ल्याएको छ । उपयुक्त विद्यालय वातावरण, प्रविधियुक्त सिकाइ, पर्याप्त खेलमैदान, दिवा खाजाको उचित व्यवस्थापन, पुस्तकालयको प्रयोग, विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशालाको उचित व्यवस्थापन जस्ता सुधारले बालबालिकाको सिकाइमा उल्लेख्य सुधार हुने देखिएको छ । अब हरेक विद्यालयले आफ्नो ध्यान बालबालिकाको पठन संस्कृतिको विकास गरी उनीहरुलाई पुस्तकप्रतिको मोह वृद्धि गर्दै पाठ्यक्रमले राखेको उपलब्धि हाँसिल गर्नुमा केन्द्रित गर्नुपर्ने देखिन्छ ।
एसईई नतिजाको आधारलाई मात्रै विद्यालयको समग्र शैक्षिक सुचक मान्दै गर्दा केही संस्थागत विद्यालयको मात्रै नभएर सामुदायिक विद्यालय समेतको अवस्था धरासायी बन्दै गएको पाइन्छ । उच्च अङ्क सहितको उपलब्धि हासिल हुनु भनेको पक्कै पनि एउटा विद्यालयको सकारात्मक उपलब्धिको संकेत हो । तर आजको एक्काइसौं शताब्दीमा पनि उही पुरानो परीक्षा प्रणालीको आधारमा गरिएको मुल्यांकनले विद्यालयको वास्तविक अवस्था मापन गर्न सकेको छ त ? केही विद्यार्थीले उच्च अंक ल्याउनु मात्रै वास्तविक उपलब्धि हो त ? प्रश्न धेरै उब्जन सक्छ । केहि विद्यार्थीले ल्याएको उच्च अंकको आधारमा मात्र विद्यालयको समग्र शैक्षिक अवस्थाको मूल्यांकन गर्ने हो भने मुल्याङ्कन पद्दतिमा परिवर्तन गर्नुको कुनै औचित्य रहँदैन । बालबालिकामा भएको क्षमतालाई प्रोत्साहन गर्दै उनीहरुलाई सिकाईमा रुचि बढाउनु विद्यालयको पहिलो प्राथमिकता रहनुपर्दछ भने बालबालिकाले आ–आफ्नो क्षमता अनुसारको उपलब्धि हासिल गर्न लागीपर्नुपर्ने देखिन्छ । विद्यालयले आफ्नो नामका लागि मात्र बालबालिकालाई जबर्जस्ती प्रतिस्पर्धामा उतार्छ भने त्यो कदापि उचित हुँदैन ।
स्तरीकृत परीक्षा प्रणालीको अभावमा बालबालिकाहरूको वास्तविक क्षमताको मापन हुनसकेको छैन । मूल्यांकन प्रणालीमा परिवर्तन भए तापनि समग्र परीक्षा प्रणालीको सुधार बिना विद्यालयको समग्र पक्षको मापन हुन सक्दैन । त्यसैगरी एसईई परीक्षाको उपलब्धिको आधारमा मात्रै विद्यार्थी र विद्यालयबीचको तुलना उचित देखिँदैन । हरेक समाजको आफ्ना केही फरक विशेषता भएजस्तै विद्यालयको पनि आ–आफ्नै पृष्ठभूमि रहेको हुन्छ । चाहे त्यो दुर्गम होस् वा सुगम ।
कुन विद्यालयले कस्तो नतिजा हासिल गर्यो भन्ने हेर्दै गर्दा उक्त विद्यालयको समग्र वातावरणको अध्ययन हुनुपर्दछ । त्यसैगरी विद्यार्थीको उपलब्धिमा उक्त बालबालिका कस्तो पारिवारिक पृष्ठभूमिबाट आएका हुन् बुबाआमाको पेशादेखि सामाजिक अवस्था समेत यसलाई प्रभाव पार्ने तत्वको रुपमा रहेको हुन्छ । त्यसैगरी विद्यार्थी कुन उमेर र कुन कक्षामा उक्त विद्यालयमा भर्ना भएको हो भन्नेपनि महत्वपूर्ण रहेको हुन्छ ।
अन्त्यमा सबै विद्यालयले आ–आफ्ना विद्यार्थीको क्षमताअनुसार उचित तरिकाले उपलब्धि हासिल गर्नमा प्रयत्न गरौं । केहि बालबालिकाले ल्याएको उच्च अंकको आधारमा मात्रै समग्र विद्यालयको मूल्यांकन नगरी सबै बालबालिकाको क्षमतालाई प्रस्फुटन गर्न सहयोग गरौं । उच्च अंकका लागि मात्रै विद्यालय भर्ना गर्नेभन्दा पनि बालिकाका लागि अनुकूल शैक्षिक वातावरण निर्माणमा प्रोत्साहन गरौं । बालबालिकाहरुलाई बिकाउने र आफ्नै देशमा टिकाउने उपायको खोजी गरौं । स्थानीय तहले आ आफ्नो क्षेत्रको शैक्षिक विकासमा उल्लेख्य सुधार गर्न नयाँ नयाँ योजनाको निर्माण गरौं । शिक्षालाई विकासको महत्वपूर्ण पूर्वाधारको रुपमा स्वीकार गरी शैक्षिक सुधारका बहसहरु संचालन गरौं । विद्यालयलाई वैदेशिक जनशक्ति उत्पादन गर्ने थलोमा मात्र सीमित नराखी आफ्नै देशमा गरीखान सक्ने खालका योजना निर्माणमा पहल गरौं ।
(अधिकारी हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष माविकी प्रधानाध्यपक हुनुहुन्छ ।)