गत चैत १७ गतेबाट सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक भएको छ । ८ दशकभन्दा लामो समयसम्म एसएलसीको नामबाट सञ्चालन हुँदै आएको कक्षा १० को परीक्षा करिब एक दशकदेखि एसईईको नामबाट सञ्चालन हुन थालेको हो । शिक्षा ऐनमा संशोधन गरेर कक्षा १२ सम्मलाई विद्यालय शिक्षा कायम भएपछि कक्षा १० को अन्त्यमा एसईई परीक्षा सञ्चालन हुन थालेको छ । कक्षा १० सम्म विद्यालय तहको शिक्षा हुँदा कक्षा १० अन्तमा राष्ट्रियस्तरमा एसएलसी परीक्षा लिइन्थ्यो । कक्षा १२ सम्म विद्यालय शिक्षा भएपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी मानिएको भए पनि कक्षा १० को एसईईको महत्व एसएलसीजस्तै मानिँदै आएको छ । एसईई भएपछि लेटर ग्रेडिङबाट नतिजा प्रकाशन गर्नेबाहेक अन्य फरक छैन । एसईईलाई अझै पनि राष्ट्रियस्तरमै सञ्चालन गरिरहेको अवस्था र देशभरका कलेजहरुले समेत कक्षा ११–१२ मा विद्यार्थी भर्ना लिइराखेको अवस्थामा यो परीक्षा विद्यालयबाट कलेज जाने परीक्षाजस्तै मानिएको हो ।

गतवर्षको भन्दा यस वर्षको नतिजा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ । यस वर्षको एसईईमा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या गतवर्षको भन्दा वृद्धि भएको छ । सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । २०७८ को एसईई नतिजाअनुसार यस्ता विद्यार्थीको संख्या ९ हजार ६३३ जनामात्र थियो । प्रतिशतका आधारमा हेर्दा यस वर्ष ४ दशमलब ६३ प्रतिशत विद्यार्थीको जीपीए ३.६० देखि ४ सम्म आएको छ, जबकि अघिल्लो वर्ष यस्ता विद्यार्थी १.९४ प्रतिशतमात्र थिए । यस वर्षको एसईईमा ३.२ देखि ३.६ जीपीए ल्याउने ५५ हजार ६९, २.८ देखि ३.२ जीपीए ल्याउने ७२ हजार ३६२ र २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै १ लाख २ हजार २९३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् भने १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ छ । एसईईमा सम्मिलित ४ लाख ८४ हजार ९३९ परीक्षार्थीमध्ये ३८ हजार ७७० जनाले १.२० देखि १.६० जीपीए ल्याएका छन् । यस्तै, ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २ सय र एनए (नन एग्रिगेड) १३ हजार ९९२ जना छन् । १.६ जीपीएभन्दा कम हुने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउँदैनन् ।

पछिल्लो समय विद्यार्थीको पठन संस्कृति कमजोर बन्दै गएको र कोभिडको समयमा परीक्षाबिना उत्तीर्ण गरिएका विद्यार्थीको समग्र सिकाई उपलब्धी कमजोर रहेकाले एसईईको नतिजामा अपेक्षित सुधार हुन सकेको छैन । कोभिडपछिका वर्षहरुमा भन्दा गत शैक्षिक सत्रमा विद्यार्थीले राम्रोसँग पढ्न पाएकाले एसईई नतिजामा केही सुधार हुनु स्वभाविक हो । तर, विषयगत आधारमा ३५ प्रतिशतभन्दा कम प्राप्तांक आउने विद्यार्थीको नतिजामा एनजी (नट ग्रेडेड) उल्लेख गरी अनुत्तीर्ण मान्ने परिवर्तित मूल्यांकन पद्दतिबाट नतिजा प्रकाशन नगरी पुरानै पद्दतिबाट नतिजा प्रकाशन गरिएकाले एसईईको नतिजा सुधार भएको मान्न सकिन्छ । नयाँ ग्रेडिङ पद्दति लागू गरिएको भए झण्डै आधा विद्यार्थी गणितकै कारणमात्रै कक्षा ११ पढ्नबाट वञ्चित हुने नतिजाले देखाएको छ । गणितमा ३० भन्दा कम प्राप्तांक ल्याउने विद्यार्थी २ लाख ४ हजार २६८ जना अर्थात् ४२ प्रतिशत पाइएको छ ।

लेटर ग्रेडिङ पद्दतिले पनि परीक्षा प्रणालीमा खासै सुधार भएको छैन । न्यूनतम जीपीए ल्याउन नसकेका विद्यार्थी अझै कक्षा ११ मा पढ्नबाट वञ्चित हुने गरेका छन् भने कतिपय विद्यार्थीले आफूले चाहेको विषय पढ्न पाइरहेका छैनन् । विद्यार्थीको औसत क्षमता मूल्यांकन गरेर माथिल्लो तह प्रवेशलाई सहज बनाउने उद्देश्यले ल्याइएको लेटर ग्रेडिङ प्रद्दति पनि खासै प्रभावकारी बन्न सकेको छैन । बरु यसले पठन संस्कृतिलाई कमजोर बनाइरहेको चर्चा हुने गरेको छ । विगतमा सबै विषयमा उत्तीर्णाङ्क ल्याउनैपर्ने अवस्थालाई लेटर ग्रेडिङले अन्त्य गरेका कारण कमजोर लाग्ने विषयप्रति विद्यार्थीको रुचि झन कम भएको छ । यसले समग्र नतिजा कमजोर बनाएको छ ।