फाइल तस्विर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । शुक्रबार भएको पालिकाको १३ औं अधिवेशनअन्तर्गतको दोस्रो बैठकले बजेट पारित गरेको हो ।


गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपैयाँको बजेट पेश गर्नुभएकोमा सभाबाट पारित भएको हो । पालिकामा सुशासन र संस्थागत विकासतर्फ १४ करोड २९ लाख १२ हजार ८७३ रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड ३० लाख रुपैयाँ, सामाजिक विकासतर्फ ३० करोड २३ लाख ५९ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ३२ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने असार १० गते नै प्रस्तुत गरेको थियो । पालिकाले पूर्वाधार विकासअन्तर्गत् पालिकामा सञ्चालित व्यापल खोला पुल, ठाडो खोला पुल, मसिने खोला पुल, हाँडीखोला पुल, ट्वाङ्ग्रा खोला पुल र पालिकाको प्रशासनिक भवन निर्माण गर्ने भएको छ । यस्तै, ४ नम्बर वडा कार्यालय भवन निर्माण तथा कोल्ड स्टोर निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा सञ्चालन गरिने भएको छ ।

पालिकाले स्वास्थ्यतर्फ जेष्ठ नागरिक तथा असहाय वर्गको स्वास्थ्य अवस्था जाँच तथा उपचारको लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै, शत प्रतिशत आमाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराई पूर्ण संस्थागत सुत्केरी भएको पालिका निर्माण गर्न कार्यक्रम ल्याइएको छ । गाउँपालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाँदा निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराउने र गर्भवती महिलाहरुको आधारभूत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क गरिने भएको छ ।

शिक्षातर्फ विद्यालयमा शिक्षकको नियमित उपस्थिति र पूरा समय कक्षामा पठन–पाठन भएको सुनिश्चित गर्न सबै सामुदायिक विद्यालयमा ई–हाजिरीको व्यवस्था र सीसी क्यामेरा जडान गर्दै जाने निर्णय भएको छ । अनिवार्य आधारभूत शिक्षामा पहुँच विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाभित्र बसोबास गर्ने गरिबीको रेखामुनि रहेका परिवारका बालबालिकाहरुको छनौट गरी विपन्न बालबालिका गरिबसँग विश्वेश्वर शैक्षिक सहायता कार्यक्रमसँग आवद्ध गराइने भएको छ ।

पालिकाभित्र सञ्चालनमा रहेका प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने विद्यालयहरुलाई विशेष प्रोत्साहन अनुदान तथा विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराइने भएको छ । खेलकुदतर्फ अध्यक्ष कप फुटबल प्रतियोगितालाई निरन्तरता दिने र उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरुवात गरिने भएको छ ।