अन्तरक्रियामा आफ्ना कुरा राख्नु हुँदै प्रदेश सभा सदस्य भारती पाठक ।

हेटौँडाः बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबार ग्रीन फाउण्डेसन नेपालको आयोजनमा उद्यम विकास र सम्भावनासम्बन्धमा पत्रकारहरुसँग अन्तरक्रिया भएको छ । अन्तरक्रियामा बागमती प्रदेश सभा सदस्य भारती पाठकले प्राकृतिक स्रोतको उपयोगिताको सन्दर्भमा वन र कृषिलाई कसरी लग्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने, वनको क्षेत्रको उत्पादन र रोजगारीसँग जोडेर वन संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष समेत रहनुभएकी पाठकले वन उद्यमको विकास गरेर जनता र प्रदेशलाई समृद्ध बनाउन बागमती प्रदेश सरकारलाई आग्रह गर्नुभयो । यद्यपी सरकारले कर उठाउने तर श्रोत बढाउन मद्दत नगर्ने हो भने बढाइएको कर निमुखा उपभोक्ताप्रति अन्याय हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “जडिबुटीमा आधारित र अन्य गैरकाष्ठजन्य बस्तुबाट भएका उत्पादनहरु भने स्थानीय र राष्ट्रिय बजारमा आउने गरेका छन् । तर त्यसको प्रबद्र्धनको जिम्मा सरकारले लिनुपर्छ, श्रोत बढाएर कर बढाउनुपर्छ ।” देशभरीका ४ हजार जति वन समुहहरुमा वनमा आधारित साना उद्यमहरु संचालित रहेको उहाँले जानकारी दिनुभयो ।

कालाबजारी रोक्नुपर्ने, स्रोत र साधनलाई उचित ढङ्गले उपयोग गर्नुपर्ने, नीतिगत समस्या समाधान गरेर काम गरेमा उद्योगको विकास हुने ग्रीन फाउण्डेसन नेपालकी कोषाध्यक्ष आरती पाठकले जानकारी दिनुभयो । स्वदेशी वस्तु उत्पादनमा विशेष जोड दिने उद्देश्यले २०६४ सालमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले एक सामुदायिक वन एक उद्यमको अवधारणा अगाडि बढाएको कोषाध्यक्ष पाठकले जानकारी दिनुभयो ।

सबै साना उद्यमहरु एउटै प्रकृतिका नभएको उल्लेख गर्नुहुँदै गैर काष्ठजन्य प्रशोधन लगायतका साना उद्यमहरु संचालनमा आएको र काष्ठजन्य वन पैदावार प्रशोधन गरी उद्यम संचालन गर्ने कार्य सोचेअनुसार प्रभावकारी नभएको कारणले जडिबुटीमा आधारित र अन्य गैर काष्ठजन्य वस्तुबाट भएका उत्पादनहरु स्थानीय र राष्ट्रिय बजारमा आउने गरेको पाठकले बताउनुभएको छ ।