हेटौँडाः मकवानपुर जिल्लामा २७ वर्ष काम गरेको अन्तर्राष्ट्रिय दातृ संस्था प्लान इन्टरनेशनल नेपालले मकवानपुर जिल्लामा आफ्नो नियमित कामको अन्त्य भएको घोषणा गरेको छ । २०५३ सालदेखि बाल संरक्षण, बाल सुरक्षा, महिला सशक्तीकरणको क्षेत्रमा काम गर्न सुरु गरेको प्लान इन्टरनेशनल नेपालले बुधबार बिहान हेटौँडामा एक कार्यक्रमका बीच आफ्नो नियमित कार्यक्रमहरु अन्त्य भएको घोषणा गरेको हो । आकस्मिक अवस्थामा पुनः आवश्यक काम गर्न सक्ने योजना रहेको उल्लेख गर्दै प्लानले नियमित कार्यक्रमको भने अन्त्य भएको घोषणा गरेको छ ।
प्लान इन्टरनेशनल नेपालका निर्देशक राम किसनको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्लानले स्थानीय गैसससँगको साझेदारीमा वार्षिक करोडौं रुपैयाँ बराबरका योजना कार्यान्वयन गर्दै आएको थियो । बालसंरक्षण, बालअधिकार र सशक्तीकरण, महिला सशक्तीकरण, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सुधार, विद्यार्थी सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य र खानेपानीको क्षेत्रमा पनि काम गरेको प्लानले स्थानीय गैसससँगको सहकार्यमा राज्यका निकायलाई जिम्मेवार बनाउन पैरवी समेत गर्दै आएको थियो ।
स्थानीय साझेदार संस्था सामुदायिक विकास संस्था नेपालका कार्यक्रम संयोजक अर्जुन खड्का प्लानको अनुपस्थितिमा बालसंरक्षण, विद्यालयको भौतिक एवम् शैक्षिक सुधारको क्षेत्रमा ठूलो अभावको स्थिति निम्तिन सक्ने बताउनुभएको छ । बुधबारको कार्यक्रममा मकवानपुरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तान लामा, उपाध्यक्ष मानकुमारी नेपाली, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार लामिछाने, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्लानको सहयोगमा सञ्चालित योजना तथा कार्यक्रमको बारेमा जानकारी समेत गराइएको थियो । प्लानले मकवानपुरको भीमफेदी गाउँपालिकामा वर्षाको पानी संकलनबारे महाचुनी माध्यमिक विद्यालयका शिक्षकलाई तालिम दिएको, प्रारम्भिक बालविकासको सुरुवातमा सहयोग गरेको, विद्यालय भवन निर्माण र अपाङ्गता भएका विद्यार्थीका लागि भौतिक पूर्वाधार उपलब्ध गराउने र हिंसारहित आचारसंहिताको विकास, पाठ्यक्रम विकास, लैंगिक रुपान्तरणका कार्यक्रमहरु गरेको उल्लेख गरेको थियो । यस्तै, विद्यालयको मर्मतसम्भार, नमुना कक्षाकोठाहरू निर्माण गरिएको, ९९६ प्रायोजित बालबालिकालाई झोलासहित स्टेशनरी सामग्री उपलब्ध गराएको, हिंसा प्रभावित तथा जोखिममा रहेका बालबालिकाको परिवारलाई सहयोग गरिएको बताइएको छ ।
विद्यालयको बाल संरक्षण नीति निर्माणमा सहयोग गरेको, प्लान परिवारका सदस्यहरुको अभिभावकलाई बाल संरक्षण र प्लान इन्टरनेशनल नेपालको बाल संरक्षण नीतिको बारेमा अभिमुखीकरण गरिएको, बाल क्लब गठनमा सहयोग तथा क्षमता विकासमा सहयोग, १६ वटा खानेपानी योजना निर्माण÷मर्मत र खानेपानी योजना सञ्चालन एवम् मर्मत सम्बन्धी उपभोक्ता समितिलाई तालिम, खुला दिसामुक्त अभियानमा सहजीकरण गरिएको प्लानले उल्लेख गरेको छ ।