हेटौंडाः बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडामा वर्कशप र रेष्टुरेन्टमा संयुक्त अनुगमन तथा निरीक्षण गरिएको छ । बुधबार प्लान नेपाल, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार, वडा बालसहजकर्ता र कम्युनिटी एक्सन सेन्टर नेपालले संयुक्तरुपमा गरेको निरीक्षणमा हेटौंडा–४ बाट २ बालश्रमिकको उद्दार गरिएको छ ।
हेटौंडा–४ स्थित सेभेन एड सिक्स वर्कशपबाट आन्दाजी १५ वर्षीय बालकको उद्दार गरिएको छ । वीरगञ्ज घर भएका ती बालकले कक्षा–४ मा पढ्दापढ्दै बीचैमा पढाई छोडेको बताइएका छन् । काम गर्न आएको करिब आधा महिना भएको बताइएको छ ।
बालकले दैनिक ९ घण्टा काम गर्ने गरेको बताएका छन् । बिना सम्झौता काममा राखिएको बताउँदै वर्कशपका सञ्चालक समीर हुसेनले बालकलाई पारिश्रमिक नदिने गरी काममा लगाएको स्वीकारेका छन् ।
सोही ठाउँमा रहेको समीर वर्कशपबाट आन्दाजी १४ वर्षीय अर्को बालकको पनि उद्दार गरिएको छ । वीरगञ्जकै ती बालकले कक्षा–३ पढ्दापढ्दै पढाई छोडेको बताएका छन् । करिब २ हप्तादेखि कार्यरत बालकलाई बिना पारिश्रमिक राखिएको उक्त वर्कशपका सञ्चालक समीर आलामले स्वीकार्नुभयो ।
ग्यालेक्सी होटल तथा रेष्टुरेन्टमा १७ वर्षीय बालक कार्यरत रहेको पाइएको छ । बालकलाई बाबुआमाको जिम्मा लगाउन अनुगमन टोलीले आग्रह गरेको छ । यस्तै, एक किशोरी पनि कार्यरत रहेको तर जन्मदर्ता यकिन हुन नसकेको बताइएको छ । अनुगमन टोलीले जन्मदर्ता झिकाउन आग्रह गरेको छ । ९ घण्टा काम गर्ने गरेको र ११ हजार पारिश्रमिक पाउने गरेको बताइएको छ । मकवानपुरका ती किशोरीले कक्षा–९ मा पढ्दापढ्दै पढाई छोडेको बताएकी छिन् ।
यसअघि उद्दार गरिका २ बालकलाई अभिभावकको जिम्मा बाल हेल्पलाइनले जानकारी दिएको छ । एक बालकको भने अभिभावक सम्पर्कमा नआएको बताइएको छ । उद्दार गरिएका बालकलाई बाल हेल्पलाइमा राखिएको छ ।