कला स्वर्णकार, राष्ट्रिय अध्यक्ष दलित महिला संघ

जेठ १७ र १८ गते दलित महिला संघ (फेडो) को बागमती प्रदेश सम्मेलन हेटौँडामा भएको थियो । प्रदेशका १३ वटै जिल्लाबाट दलित महिला, दलित समुदायको हकहितको पक्षका अभियन्ता, दलित समुदायबाट स्थानीय, प्रदेश र संघीय तीनै तहमा निर्वाचित प्रतिनिधिलगायतको सहभागिता रहेको सम्मेलनले १७ बुँदे घोषणापत्र समेत जारी गरेको छ । दलित महिलाको अवस्था, हालसम्मका उपलब्धी र भावी रणनीतिका विषयमा दलित महिला संघकी राष्ट्रिय अध्यक्ष कला स्वर्णकारसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः तपाईहरुले दलित महिला संघको प्रदेश सम्मेलन गर्नु भयो । के उद्देश्यले सम्मेलन गर्नु भयो ?

स्वर्णकारः बागमती प्रदेशका १३ वटै जिल्लाका दलित महिला, केहि सामाजिक अभियन्ता र जनप्रतिनिधिको सहभागितामा सम्मेलनमा छलफल गरियो । हाम्रो अहिलेको अवस्था के छ र त्यसलाई यो भन्दा अझ बलियो कसरी बनाउने अथवा हाम्रो अझै अधिकार कसरी सुनिश्चित गर्ने भन्ने उद्देश्यले यो कार्यक्रम हामीले आयोजना गरेका हौं ।

समाजः दलित महिलाहरुको अहिलेको अवस्थालाई कसरी व्याख्या गर्नुभयो ? तपाईहरुको अवस्था कस्तो छ भनेर कसरी पहिचान गर्नु भयो ?

स्वर्णकारः अहिले दलित महिलाहरुको अवस्था पहिलेको भन्दा राम्रो रहेको विश्लेषण गरेका छौं । पहिले राजनीतिक सहभागिता शून्य जस्तै थियो । अहिले स्थानीय तहमा, प्रदेशमा, संघीय तहमा केहि दलित महिलाको प्रतिनिधित्व भएको छ । वडामा चै दुईवटा महिला मध्ये एउटा दलित भनेको भएर आएको हो । जुन चै एउटा कार्यकारी पद हुन्छ त्यसमा चै अझै दलित महिलाहरु आउन सकेका छैनन् । वडा सदस्यमै सीमित राखिएको छ । प्रदेशमा, सघंमा दलित महिलाको प्रतिनिधित्वलाई हेर्ने हो भने २०७४ सालको भन्दा केही घटेको छ ।

समाजः के कारणले घटेको छ जस्तो लाग्छ ? तपाईहरुको सहभागिता बढाउन के गर्न आवश्यक देख्नुहुन्छ ?

स्वर्णकारः अहिलेको स्थानीय तहको निर्वाचनमा एक त गठबन्धनले गर्दा पनि दलित महिलाको प्रतिनिधित्व घटेको छ । अर्को कुरा दलित महिलाहरुलाई कार्यकारी पदहरु दिन दलित महिलासँग चुनावको बेलामा खर्च गर्न पैसा हुँदैन र दलित महिला सक्षम पनि छैनन् भन्ने कुराले पनि कार्यकारी पदमा दलित महिलाले पाउने अवस्था कम भएको जस्तो लाग्छ ।

समाजः अहिले दलित महिलाहरुको जुन सहभागिता छ त्यो सहभागिता कत्तिको प्रभावकारी र उपलब्धिमूलक भएको पाउनु भएको छ ?

स्वर्णकारः त्यो सहभागिता उपलब्धिमूलक त छ तर पनि उहाँहरुले आफूले पाएको त्यो भूमिकाअनुसार जिम्मेवारी नपाएको, आफूले गर्न चाहेको काम पनि गर्न नपाएको र केहि विभेद गरिन्छ, जानकारी दिइँदैन, सूचना दिइँदैन भन्ने जस्ता गुनासो सुनिन्छ ।

समाजः दलित महिलाको बागमती प्रदेश सम्मेलनको उपलब्धि के रह्यो ?

स्वर्णकारः यसको उपलब्धि चै हामी १३ वटै जिल्लाको दलित महिलाहरु एक ठाउँमा आयौं । अब चै हामी संगठित भएर जानु पर्छ । हामीले पाएको संविधानले ग्यारेन्टी गरेको जुन उपलब्धिहरु छन् त्यो उपलब्धिहरु गुम्न दिनु हुँदैन । हामीले गर्नुपर्ने प्रतिनिधित्व होस् वा हाम्रो सवालहरु होस् अथवा अधिकार होस हामीले यस्तो गर्नु पर्छ त्यसको लागि संगठित हुनु पर्छ । हामी हरेक ठाउँमा अधिकारको लागि बोल्नु पर्छ भन्ने कुरा उपलब्धि भएको छ । पालिकाका कार्यपालिकाका जनप्रतिनिधिहरु आउनु भएको छ । उहाँहरु फर्केर जाने बेला धेरै खुराकहरु लिएर गएको जस्तो अनि जातीय मुद्दा हो यो मुद्दाका लागि हामी संगठित हुनु पर्छ । पार्टी भन्दा पनि हामी दलित समुदायलाई गरिएको विभेदविरुद्ध हामी एकीकृत हुनु पर्छ । आफ्नो अधिकारका लागि आफ्नो ठाउँबाट हामी लाग्नु पर्छ भन्ने कुरा बुझेर फर्कनु भएको छ । यो नै महत्वपूर्ण उपलब्धी हो भन्ने लाग्छ ।