करिब एक सातादेखि देशभर गर्मी बढेको छ । गर्मी बढ्दै गएर मौसम प्रतिकूल बनेका कारण मानिसलाई विभिन्न समस्याहरु भइरहेका छन् । आम मानिसको जनजीवन प्रभावित हुन थालेको छ । अत्यधिक गर्मी र यसबाट बालबालिकामा समस्या देखिन थालेपछि विद्यालयहरुमा विदा दिइएको छ । गर्मीकै कारण बालबालिकालगायत अन्य मानिसमा स्वास्थ्य समस्यासमेत देखिने गरेको छ । गर्मी बढ्दै गएका कारण विभिन्न प्रकारका रोगको संक्रमण पनि बढेको छ । यो मौसममा विभिन्न प्रकारका सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । गर्मी सिजनमा विशेषगरी टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोगको संक्रमणको सम्भावना बढी रहन्छ । लामखुट्टे तथा अन्य जीवको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने स्क्रवटाइफस, कालाजार आदि फैलने गरेको छ । गर्मीमा हुने अधिकांश रोगको संक्रमण हुनुमा मुख्यरुपमा खानपिनलाई लिइन्छ । सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको अवस्थामा रोगको संक्रमण हुने र एक–अर्कामा सर्ने गर्दछ ।
मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्नुको सबैभन्दा प्रमुख कारण खानपिनमा हुने गडबडी हो । गर्मी महिनामा स्वस्थकर खानेकुरामा ध्यान नदिँदा अधिकांश रोग लाग्ने र संक्रमण फैलने जोखिम अत्यधिक हुन्छ । सन्तुलित र व्यवस्थित भोजनलाई बेवास्ता गर्दा हामी विभिन्न रोगको शिकार बन्नुपरेको छ । व्यापार–व्यवसाय गर्दा मानव स्वास्थ्यलाई पर्याप्त ध्यान नदिँदा हाम्रो स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गएको छ । व्यापारको नाममा जनस्वास्थ्यलाई बेवास्ता गरिएको छ । मानव स्वास्थ्यको बेवास्ता गरी सडक किनारमा जथाभावी खानेकुरा बिक्रीवितरण हुने गरेका छन् । मानवीय स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्ने यस्ता अस्वस्थ खानेकुराको बिक्रीवितरण नियन्त्रण गर्नेतर्फ सरोकारवाला निकायले ध्यान दिएको छैन । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा ठेलाबाट हुने व्यापारलाई लगभग अन्त्य गरिसकेको अवस्थामा देशका अन्य क्षेत्रमा भने यस्ता काम हुन सकेको छैन । सडक पेटी तथा रिक्सा/ठेलामा पानीपुरी, चटपटे, मम, चाट र विभिन्न प्रकारका नास्ताहरु बिक्री हुने गरेको छ । न्यून आय भएका परिवारले यसलाई आयआर्जनको स्रोत बनाउने गरेका कारण पनि यस्ता अखाद्य वस्तुहरु बिक्रीवितरण नियन्त्रण गर्न सरोकारवाला निकाय असफल बनिरहेको छ ।
विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा मानवीय चाप बढी हुने स्थानहरुमा सडक किनारा तथा पेटीमा खानेकुरा बिक्री बढी हुने गर्दछ । ठूला होटल तथा रेष्टुरेन्टमा भन्दा सस्तोमा सडकमै खान पाइने र कुरेर बस्नु नपर्ने भएकाले युवा पुस्तामा ‘स्ट्रीट फुड’ लोकिप्रय हुने गरेको छ । खासै लगानी नगरी राम्रै बिक्री र नाफा गर्न सकिने यस्ता व्यवसाय मानव स्वास्थ्यका हिसाबमा उपयुक्त मानिँदैन । सडकमै खुलारुपमा तयार गरिने र बिक्री गरिने भएकाले यस्ता खानेकुरामा धुलो पर्ने, झिँगा भन्कने एवम् अन्य फोहोरले दूषित हुने सम्भावना उच्च रहन्छ । अहिले गर्मी चर्किरहेको अवस्थामा यस्ता खानेकुरा खानु भनेको शरीरलाई कष्ट हुनुका साथै अस्पतालको बास हुन पनि सक्छ ।
जनस्वास्थ्यको ख्यालै नगरी सार्वजनिक स्थलमा जथाभावी खानेकुरा बिक्री हुँदा पनि सम्बन्धित स्थानीय तह (नगर/गाउँपालिका)ले खासै चासो र चिन्ता देखाएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा यसअन्तर्गत्का कार्यालयहरु, अन्य सरोकारवाला सरकारी कार्यालय एवम् उपभोक्तावादी संघसंस्था पनि चुपचाप नै बसिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाले फुटपाथमा हुने व्यापारलाई केही कम गरेको भए पनि पूर्णरुपमा हटाउन सकेको छैन । कुनै पसलको एक छेउमा वा फुटपाथमा राख्ने वा ठेला/गाडा वा गाडीहरुमा राखेर बिक्री गर्ने गरेका कारण यसको एकैपटक अन्त्य गर्नु सम्भव छैन । अन्य समयमा भन्दा नियमनकारी निकायले गर्मी सिजनमा बिक्री हुने यस्ता खानेकुराको स्वच्छता, ताजापन र शुद्धतामा विशेष ध्यान दिनु आवश्यक छ ।