फाइल तस्वीर ।

हेटौँडाः तेस्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनलका दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

मंगलबार हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा १३ नम्बर र १५ नम्बर वडा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । १३ नम्बरले २ नम्बरलाई ३–१ गोलअन्तरले र १५ ले १९ नम्बरलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । १५ र १९ नम्बर वडाबीचको खेल निर्धारित समय गोलरहित बराबरीपछि टाइब्रेकरमा धकेलिएको थियो । म्यान अफ द म्याच १५ नम्बरका गोलरक्षक अनिल लो घोषित भए ।

१३ नम्बरको जीतमा सुनिल थिङले २ गोल र स्यामुयल सुनारले एक गोल गरे । थिङले एक गोल पेनाल्टीमार्फत् गरेका हुन् । म्यान अफ द म्याच सुनार घोषित भए । २ नम्बर वडाका लागि विज्ञान राजबाहकले एक गोल गरे । प्रतियोगिताको सेमिफाइनल खेलहरु बुधबारबाट सुरु हुँदैछ । बुधबारको पहिलो सेमिफाइनल खेलमा १४ नम्बर र १५ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।