हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविको कक्षाकोठाको उडाएको छानो छाएको छ । जेठ ३ गते साँझ ५ बजेको समयमा हावाहुरीले ३ वटा कक्षाकोठाको छानो पूर्णरुपमा उडाएको थियो । मकवानपुरगढी गाउँपालिकाले तत्काल जस्तापाता उपलब्ध गराएपछि विद्यालयको पठनपाठन संचालनमा आएको छ ।
जेठ १६ गतेदेखि पूर्णरुपमा पठनपाठन संचालनमा आएको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल फूयाँलले जानकारी दिनुभयो । एउटै कक्षाकोठामा धेरै विद्यार्थी राखेर पठनपाठन गर्दै आइरहेको विद्यालय पूर्णरुपमा संचालनमा आएको हो । पालिकाले २ लाख रुपैयाँ रकमको जस्तापाता सहयोग गरिएपछि कक्षाकोठा मर्फत सुरु गरिएको थियो । एउटा सोलार प्यानल, २ वटा फ्यान, केजी र १ कक्षाको म्याट र साजसज्जा पूर्णरुपमा क्षति भएको थियो । करिब ८ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो । क्षति लगत्तै पालिका र प्रदेश सरकारलाई जानकारी गराइको थियो ।
त्यसपश्चात बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीसहित पालिकाका प्रमुख, उपप्रमुखहरु अवलोकनका लागि पुगेका थिए । हावाहुरीले क्षति पुगेको विद्यालयलाई स्थानीय श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले ३ थान फ्यान, गाउँ शिक्षा समितिका सदस्य एवम् वंशगोपाल माविका निवर्तमान अध्यक्ष रामप्रसाद पुडासैनीले ५ थान वाल फ्यान, नेकपा माओवादी मकवानपुरगढी गाउँ कमिर्टीका अध्यक्ष राजकुमार खड्काले २ थान वाल फ्यान, तरुण दल मकवानपुरगढी गाउँ समितिका सभापति सानोकान्छा थिङले २ थान नाइटभिजन सीसीक्यामरा सहयोग गर्नुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।