ढुण्डीराज लामिछाने
निर्देशक
राष्ट्रिय तथ्यांक कार्यालय
राष्ट्रिय तथ्यांक कार्यालयले गत बुधबार हेटौँडामा २०७८ सालको जनगणनाको बागमती प्रदेशस्तरीय तथ्यांक सार्वजनिक ग¥यो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा सार्वजनिक गरिएको प्रदेशस्तरीय तथ्यांकले आगामी दिनमा प्रदेशको नीति तथा योजना बनाउन महत्वपूर्ण आधार हुने राष्ट्रिय तथ्यांक कार्यालयको अपेक्षा छ । प्रदेशस्तरीय तथ्यांकको सार्वजनिकीकरण र यसको महत्वको विषयमा रहेर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः प्रदेशस्तरीय तथ्याङ्कको सार्वजनिक गर्नुपर्ने आवश्यकता किन पर्यो र कुन–कुन विषयलाई बढी जोड दिएर यो तथ्याङ्क सार्वजनिक गर्नुभयो ?
लामिछानेः सम्मानीय प्रधानमन्त्री ज्यूले बैशाख १० गते राष्ट्रियस्तरको तथ्याङ्कको सार्वजनिक गर्नुभयो । नीति तथा योजनामा यो तथ्याङ्कहरुलाई समेटोस् भन्ने उद्देश्यले हामीले हत्तार हत्तार गरी किताब तयार पारेर सातवटै प्रदेशमा केही दिनको अन्तर पारेर प्रदेशस्तरीय तथ्याङ्क सार्वजनिक गर्यो । प्रदेशले बनाउने नीति तथा योजनाहरु बनाउँदा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामीले राखेका छौँ। वास्तवमा अहिलेको युग निकै फरक छ र जनसांख्यिक संरचनाहरुमा पनि निकै परिवर्तन भएका छन् । नेपालको सात वटै प्रदेशमा प्रविधिको निकै विकास भइसकेको, युवा पुस्ताहरु सहरकेन्द्रित भएका, गाउँहरु खाली हुँदै गएको, वृद्धवृद्धाहरु र बालबालिकाहरु मात्रै गाउँमा बस्ने गरेको र धेरै युवा जनशक्ति विदेश पलायन भएको अवस्था योे तथ्याङ्कले देखाएको छ । राज्यले रोजगारीको अवस्था सिर्जना गरेर वा शिक्षाको दायित्व लिएर, र सीप तथा तालिम दिएर विदेश पलायन भएका जनशक्तिलाई प्रयोग गर्न सकेमा देश विकासमा सहयोग हुन्छ । नीति तथा योजनाहरु बनाउँदै गर्दा र बजेट भाषण हुँदै प्रदेशले यो कुराहरुमा ध्यान दिनुपर्छ भनेर हामीले प्रदेशस्तरीय तथ्याङ्क सार्वजनिक गरेका हो ।
समाजः यो पटकको जनगणनाको मुख्य विशेषताहरु के के पाउनुभयो ?
लामिछानेः यो पटकको जनगणनाको मुख्य विशेषता भनेको जनसांख्यिक संरचनात्मक परिवर्तन देखिन्छ । जन्मदर घट्दै गएको कारणले बालबालिकाको जनसंख्या पनि घट्दो देखिन्छ भने जेष्ठ नागरिकको जनसंख्या बढ्दै गएको छ । नेपालमा अहिले बसाईसराईको अवस्था एकदम भयवाह हुँदै गएको छ । राज्यले अब बसाईसराईमा निकै ध्यान दिनुपर्ने अवस्था छ । अहिले प्रजनन् दर घटेर २ भन्दा तल गइसकेको छ ।
समाजः यसले जनसंख्या सन्तुलनमा कस्तो असर गर्छ ?
लामिछानेः ९० वर्षको इतिहासमा नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम भएर ०.९३ प्रतिशत पुगिसक्यो । हामीले विदेश पलायन हुने युवाहरुलाई रोक्न सकेनौँ भने यो वृद्धिदर ऋणात्मक हुँदै जाने देखिन्छ । यही अवस्था हुँदै जाने हो भने राज्यलाई आवश्यक पर्ने मानवस्रोत पाउन छोड्नेछ ।
समाजः यो तथ्यांकलाई हेर्दा बागमती प्रदेशको जनसांख्यिक लाभ र चुनौती के–के छन् ?
लामिछानेः जनसांख्यिक लाभ बागमती प्रदेशमा बढी नै देखिन्छ । तर बागमती प्रदेशलाई समग्रमा नहेरी उपत्यकाको ३ जिल्लालाई छुट्याएर हेर्दा चाहिँ अन्य प्रदेशभन्दा कमजोर देखिन्छ । बागमती प्रदेशमा साक्षारता दर बढी भए तापनि जन्मदर्तामा पनि अन्य प्रदेश भन्दा कम रहेको छ । बागमती प्रदेशमा अहिले करिब ७ प्रतिशत बेरोजगारी रहेको छ ।
समाजः यो तथ्याङ्क सार्वजनिक गर्दै गर्दा तपाईहरुले प्रदेश सरकारलाई के–के कुरामा ध्यान दिन सुझाव दिनुभयो ?
लामिछानेः प्रदेश सरकारले शुरुमा बसाईसराईमा ध्यान दिनुपर्ने देखिन्छ । काठमाडौं उपत्यका बाहेकका हिमाल, पहाड र तराईमा भएका जनसंख्यालाई वितरणमुखी कार्यक्रमभन्दा पनि कृषिमा जोड दिएर, कृषिमा आधुनिकीकरण गरेर, उनीहरुलाई अनुदान भन्दापनि सीपहरु दिएर र कृषिमा ठूलो लगानी गरेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । युवाहरुको विदेश पलायनलाई रोक्नका लागि प्रदेशले शिक्षामा बढी लगानी गर्नुपर्ने देखिन्छ ।
समाजः यो तथ्याङ्कलाई पालिकाहरुलाई कत्तिको अध्ययन र विश्लेषण गर्नसक्ने अनुमान गर्नुभएको छ ?
लामिछानेः पालिका भनेको स्थानीय सरकार हो र केन्द्रमा भएका सबै मन्त्रालयको काम स्थानीय तहले गर्छ भनी राज्यले सोच्यो । तर पालिकाहरुमा त्यो किसिमको सीप, क्षमता र दक्षता भएका जनशक्तिको अभाव देखिन्छ । मेरो विचारमा उनीहरुलाई अहिले सार्वजनिक भएका तथ्याङ्क पनि कसरी हेर्ने भन्ने थाहा छैन ।