हेटौंडाः हेटौंडा उपमहानगरपालि–२ स्थित हरिकुञ्ज रोडमा राखिएको सडकबत्ती उद्घाटन भएको छ । सोमबार विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सडकबत्तीको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
४ लाख १६ हजार स्टमेट बजेटमा उमहानगरपलिकाको ३ लाख ३२ हजार र उपभोक्ताको ८४ हजार लागतमा ३३ वटा सडकबत्ती राखिएको छ । हरिकुञ्ज टोल विकास संस्थाको पहलकमा सडक पेटीमा बत्ती जडानको काम भएको हो ।
उद्घाटनको क्रममा बोल्नुहुँदै उपमहानगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकालाई सबैको आकर्षको विन्दु बनाउन, कसरी हेर्नलायक बनाउने भन्ने विषयमा कार्य भइरहेको बताउनुभएको छ । नगरपालिकाले गरेको काममा बाधा र विभिन्न भनाई आइरहने तर आफूले विकासको कार्य अगाडि लैजाने धारणा उहाँले राख्नुभयो ।
नगरको विकास गर्न भएको बजेटबाट काम गर्ने बताउँदै आवश्यकताको आधारमा समानुपातिक ढंगबाट बजेट छुट्याइएको उहाँले बताउनुभयो । विकासको क्रम अगाडि बढाउन आवश्यक रहेको भन्दै २ नम्बर वडाले एक फरक सोच भएको जनप्रतिनिधि पाएको बताउनुभयो । प्रमुख लामाले नगरको सौन्दर्यता तार, पोल व्यवस्थापन नहुँदा सुहाउँदो नभएकोमा जोड दिँदै व्यवस्थापन गरेर जाने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख राजेश बानियाँले बत्ती राख्ने काम राम्रो भएको बताउँदै हेटौंडा प्रदेशको राजधानी भएकाले हेटौंडामा आउने मानिसलाई आकर्षणको क्षेत्र निर्माण गर्नेतिर नगरपालिका लागि परेको बताउनुभयो । नगरमा धेरै फोहोर सुर्तीजन्य पदार्थ भएकाले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम ल्याएर साउनबाट सुर्तीजन्य पदार्थ प्रयोग हटाउने प्रतिबद्धता जनाउनुभयो । नगरबासीहरुले विकासको काम गर्न प्रतिनिधि बनाएकाले विकासको काम लिएर सबैको घर–टोलमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनले वडामा काम गर्ने जिम्मेवारी आफ्नो भएकाले विकासको कामलाई निरन्तरता दिएर जाने प्रतिवद्धता जनाउनुभयो । भोलिका दिनमा वडाले संगमचोकमा रात्रिकालीन बजार निर्माण गर्ने, हरिकुञ्ज सडकका घरहरुमा एकै किसिमको रङ लगाएर व्युटिफिकेसनको रुपमा विकासको गति लिएकोे धारणा राख्नुभयो ।