शिक्षाबिना कुनै पनि क्षेत्रमा सफलताको कल्पना गर्न सकिँदैन । शिक्षा सबै पूर्वाधारको मुख्य आधार पनि हो । शिक्षाको विकासबिना अन्य पूर्वाधारको विकास सहज हुँदैन । राज्यले शिक्षाको विकासमा ठूलै लगानी गर्दै आएको छ । सबैका लागि शिक्षा अनिवार्य र अत्यावश्यक बन्दै गएको छ । संघीयताको कार्यान्वयनसँगै देशमा तीन तहको सरकार बनेका छन् । संविधानले पनि शिक्षामा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको साझा अधिकार मानेको छ । माध्यमिक तह (कक्षा १२)सम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकारअन्तर्गत् गाउँपालिका र नगरपालिकाहरु पर्दछन् । नगरपालिकामा पनि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरु छन् । देशमा ७ सय ५३ वटा स्थानीय तह रहेका कारण माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनमा पनि स्थानीय तहबीच विविधता पाइने गरेको छ ।

संघीय तथा प्रादेशिक नयाँ शिक्षा ऐन नबनेका कारण स्थानीय तहले पनि शिक्षा ऐन बनाएर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । यसले गर्दा हरेक स्थानीय तहले विद्यालय शिक्षाको व्यवस्थापनमा फरक–फरक अभ्यास गर्दै आएका छन् । यसले शिक्षा क्षेत्रमा भद्रगोल र बेथितिको अवस्था देखिने गरेको छ । यस्तै भद्रगोल केही दिनदेखि मकवानपुर जिल्लामा पनि देखिएको छ । पछिल्ला केही दिनदेखि देशभर गर्मी बढेको छ । जनजीवन नै प्रभावित हुने गरी उच्च गर्मी भएका कारण विद्यालयका विद्यार्थीलाई विविधि समस्या भइरहेको छ । सबै विद्यालयमा एकनाशको भौतिक पूर्वाधार नभएका कारण गर्मीका कारण विद्यार्थी बेहोस् हुने, स्वास्थ्यमा समस्या देखिने गरेपछि विद्यालयको पठनपाठनमै समस्या हुन थालेको भन्दै गर्मी बिदा दिन आवाज उठ्न थाल्यो । तराई मधेशका अधिकांश विद्यालयहरुमा विदा दिइएपछि हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुरका अन्य स्थानीय तहलाई पनि विद्यालयको पठनपाठन बन्द गर्न दबाब पर्न थाल्यो । तर, पालिकाहरुले सहजरुपमा विद्यालय विदामा एकरुपता कायम गर्नुको सट्टा अनेकन् निर्णय गर्ने र निर्णय बदल्ने गर्दै शिक्षा व्यवस्थापनमा अस्तव्यस्त अवस्थालाई उजागर गरेका छन् ।

शुक्रबार हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्यालयमा विदा दिने/नदिने भन्ने निर्णय गर्ने जिम्मा वडालाई दियो । पालिकाले निर्णय गर्न नसक्दा वा निर्णय गर्न नचाहँदा, नजान्दा वडा–वडाले पाएको जिम्मेवारी पूरा गर्ने क्रममा शनिबार नै केही वडाले प्रधानाध्यापक, अभिभावकसँगको परामर्शमा विद्यालय विदा दिने निर्णय गर्न सुरु गर्यो । शनिबार दिउँसोसम्ममा हेटौंडाका वडा नम्बर ४, ५ र १० ले आइतबारदेखि ३ दिन विदा दिने निर्णय गर्यो भने १५ नम्बर वडाले आइतबार र सोमबार दुईदिन मात्रै विदा दिने निर्णय गर्यो । १९ वटा वडा भएको हेटौंडाका अन्य वडाको अवस्था के हुने र वडा–वडाले आआफ्नो तरिकाले विदा गर्ने निर्णय गर्दा विद्यार्थी र अभिभावकमा अन्यौलता सिर्जना हुने भन्दै सामाजिक सञ्जालमा पालिका नेतृत्वको आलोचना हुन थाल्यो । शनिबार साँझ नै हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय विदा दिने निर्णयको सूचना प्रकाशित गर्यो ।

मकवानपुरकै मनहरी गाउँपालिकाले आइतबार बिहान एउटा सूचना सार्वजनिक गर्दै सोमबारदेखि बिहान पठनपाठन गर्ने निर्णय गर्यो । पालिकाले फेरि दिउँसो सोमबारदेखि विद्यालय विदा भन्दै अर्को सूचना जारी गर्यो । यसअघि बकैया गाउँपालिकाबाट सुरु भएको विद्यालय विदा दिने निर्णय हेटौंडा, मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाश हुँदै बागमती गाउँपालिकासम्म पुगेको छ । मकवानपुरको भीमफेदी र इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाले भने अहिलेसम्म विदाको निर्णय गरेको छैन । तुलनात्मक रुपमा यी पालिका उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले गर्मीको प्रभाव कम रहेको छ । वर्षे विदाबाट कट्टा हुने गरी केही दिन विद्यालय बन्द गर्न पालिकामा देखिएको सकसले कसरी विद्यालय तहको शिक्षा व्यवस्थापन भइरहेको छ भन्ने तथ्यलाई उजागर गरेको छ ।

असहज अवस्थामा केही दिन विदा दिनलाई यत्रो भद्रगोल प्रदर्शन गर्नुपर्ने अवस्था बन्नु हुँदैनथ्यो ।