हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वातावरणीय समस्या ठूलो चुनौतीको रुपमा रहेको बताउनुभएको छ । सोमबार ५१ औं विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समितिले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
वातावरण जोखिम प्रदूषणबाट भएको बताउँदै वातावरण बिगार्ने मानिस नै भएकाले आफैंले सपार्नतिर लाग्नुपर्ने धारणा उहाँले राख्नुभयो । फोहोर व्यवस्थापनका लागि सबै स्थानीय तहहरु लागि पर्र्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्कट्टेलले खोला, खोल्सा, पानीको मुहान र बाटो वरिपरि फोहोर फाल्न नहुने बताउनुभयो ।
स्थानीय तहबाट उत्पादित फोहोरको वर्गीकरण गरी कुहिने फोहोरबाट मल बनाउन सकिने र नकुहिने फोहोर बिक्री र व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा नयाँ ढंगले नीति कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै हेटौंडा उपमहानगरपलिकाकी प्रमुख मीनाकुमारी लामाले हरितगृहको रुपमा अन्तर्राष्ट्रियस्तरमा हेटौंडालाई चिनाउने काम टोल विकास संस्थाहरुले गरेको बताउनुभयो । हेटौंडामा मेनरोड, मुख्य बजार सफा रहेको तर फोहोर व्यावस्थापन गर्ने डम्पीङ साइड भरिँदै गएकाले नगरको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकारले प्राविधिक उपकरणहरु उपलब्ध गराउनुपर्ने माग राख्नुभयो । फोहोर व्यवस्थापन एक चुनौती भएकाले पालिकाले नीति नै बनाएर आगामी दिनमा फोहोर व्यवस्थापन गर्न लाग्ने धारणा उहाँले राख्नुभयो ।
उपमहानगर प्रमुख लामाले नगरमा भएका टोल विकास संस्थाहरुलाई संस्थाको आर्थिक आय–व्यय अडिट गराउन निर्देशन दिनुभएको छ । पालिकाले प्रत्येक टोलविकास संस्थाको अनुगमन गर्ने उहाँले बताउनुभयो । हेटौंडालाई प्लाष्टिकरहित नगर निर्माण गरी अर्काे वातावरण दिवस मनाउँदा प्लाष्टिकमैत्री नगरको घोषणा गरिने बताउनुभयो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले हरितगृह हेटौंडा निर्माण गर्न टोल विकास संस्थाको ठूलो भूमिका रहेको दाबी गर्नुभयो । टोल विकास संस्थाले हेटौंडालाई कालो प्लाष्टिकमुक्त हेटौंडा बनाउन सफल भएकोमा हेटौंडालाई प्लाष्टिकमुक्त शहर बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपालमा दैनिक ४८ लाख प्लाष्टिक खपत हुने गरेको र खपत प्लाष्टिकको ४.१ प्रतिशतमात्र रिसाइक्लिङ हुने भएकाले प्लाष्टिकमा रोक लगाउनुपर्ने बताउनुभयो । वातावरण संरक्षण र सम्बद्र्धन भनेको हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताउँदै हरेक व्यक्तिले वातावरण संरक्षण मेरो जिम्मेवारी भनेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले हामीले गर्ने साना साना कामबाट वातावरण प्रदूषण हुने गरेको भन्दै व्यक्तिगतरुपमा आचरण सुधार गर्न आवश्यक रहेको बताउनुभयो । आफ्नो समाज तथा समुदाय सफा राख्न आफैंबाट काम सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।