हेटौँडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रमले आर्थिक वर्ष २०७८÷७९ को आयव्यय विवरण र प्रगति प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ । मानवसेवा आश्रमले दानबाट ७ करोड ३० लाख ६३ हजार रुपैयाँ र अन्य दान, चन्दा तथा सहयोगबाट ५४ लाख ९१ हजार रुपैयाँ गरी ७ करोड ८५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
मानवसेवा आश्रमको खर्च ३ करोड ४१ लख ५२ हजार रुपैयाँ भएको आश्रमका लेखा प्रशासन प्रमुख अस्मिन गौतमले जानकारी दिनुभयो । नेपथ्य कार्यक्रम–२०७९ मा ४ करोड ८ लाख ८३ हजार रुपैयाँ खर्च र ७ करोड २ लाख ४७ हजार ६ सय १५ रुपैयाँ आम्दानी भएको बताइएको छ । खर्च कटाएर २ करोड ३ लाख ६४ हजार रुपैयाँ बचत रहेको गौतमले जानकारी दिनुभयो ।
मानवसेवा आश्रमका संरक्षक रामजी अधिकारीले प्रगति विवरण सार्वजनिक गर्नुहुँदै सरकारको आलोचना गर्नुभन्दा सरकारको सहयोगी भई सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गराउने मानवसेवा आश्रमको स्थापना गरिएको बताउनुभयो ।
कसैले पनि एक गाँस भोजन र एक सरो कपडाको अभावमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था निर्माण गर्ने दृढ संकल्पसहित २०६९ साल भाद्र १३ गते मकवानपुर जिल्ला हेटौँडाबाट मानवसेवा आश्रमको औपचारिक शुभारम्भ भएको थियो । ७ प्रदेशको विभिन्न १९ वटा जिल्लामा मानवसेवा आश्रमका २३ सेवा केन्द्रहरु सञ्चालनमा छन् । एक दशकमा ७७ वटै जिल्लाबाट ८ हजार बढीको उद्दार भइसकेको छ । एक हजार ५ सय २९ जना आश्रमको संरक्षणमा छन् ।
९ सय ८४ जना पुरुष र ५ सय ३२ जना महिला गरी एक हजार ५ सय १६ जनाको उद्दार गरिएको छ । ४ सय ९८ जना पुरुष र २ सय ८० जना महिला गरी ७ सय ७८ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । एक सय १७ जना पुरुष र ५८ जना महिला गरी एक सय ७५ जनाको मृत्यु भएको छ । २ सय ४७ जना पुरुष र एक सय ४६ जना महिला गरी ३ सय ९३ जनाले अल्पकालीन सेवा लिएका छन् । ३२ जना पुरुष, १२ जना महिला गरी ४४ जनाले सामुदायिक पुनस्र्थापना भई स्वाबलम्बी जीवन निर्वाह गरिरहेका छन् । १६ जना पुरुष र १३ जना महिला गरी २९ जनाको पुनः उद्दार गरिएको छ । ५ जना पुरुष र १४ जना महिला गरी १९ जनाको स्थानान्तरण गरिएको छ । एक ३५ जना पुरुष र ८० जना महिला गरी २ सय १५ जना आश्रित छन् ।
गुणस्तरीय सेवा प्रवाहका लागि एक आश्रित मासिक औसतमा १५ हजार रुपैयाँ खर्च आवश्यक हुने आश्रमले उल्लेख गरेको छ । यस अनुपातमा हाल उपलब्ध सहयोग आवश्यकताको आधारमा धेरै कम रहेको संरक्षक अधिकारीले बताउनुभयो । एकातिर स्रोतको अभाव र अर्कोतिर सेवालाई गुणस्तरीय बनाउन चिन्तन गर्नुपर्ने समय दाता खोज्न र खुसी पार्न व्यतित गर्नुपर्ने बाध्यात्मक अवस्थाले सेवा गुणस्तर चाहे जस्तो बनाउन नसकिएको अधिकारीको भनाइ छ । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त मकवानपुर जिल्ला २०७५ साल फागुन ४ गते घोषणा भइसकेको छ । घोषणा भएको ४ वर्ष बितिसक्दा पनि हालसम्म संयुक्त समिक्षा र योजना बैठक बस्न सकेको छैन ।