म्यान अफ द म्याच बागमती प्रदेशका रिजन ढकाल

हेटौँडाः धनुषा जिल्लाको जनकपुरमा जारी स्वर्गीय महेन्द्र निधी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।

टस जितेर पहिले व्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । कोशीलाई सस्तैमा समेट्ने क्रममा बागमती प्रदेशका रिजन ढकालले ३ विकेट लिए । ४ ओभर ३ बलको सामना गरेर ११ रन जोड्दा कोशी प्रदेशले ४ विकेट गुमाइसकेको थियो । १०० रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बागमती प्रदेशले अन्तिम बलमा लक्ष्य भेट्टायो । बागमतीले ७ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बागमतीको जवाफी व्याटिङ पनि बलियो रहेन । बागमती प्रदेशका लागि आशुतोष गैरेले २४ र इशान पाण्डेले २९ रनको योगदान गरे ।

म्यान अफ द म्याच बागमती प्रदेशका रिजन ढकाल घोषित भए । ढकालले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । ढकाल मकवानपुरका खेलाडी हुन् । प्रतियोगिता अन्तर्गत बागमतीले बुधबार लुम्बिनी प्रदेश र शुक्रबार मधेस प्रदेशसँग खेल्नेछ । प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २६ गते हुनेछ ।