संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति पौडेलले संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुअघि हरेक वर्ष नीति तथा कार्यक्रम पास गराउनुपर्ने कानुनी व्यवस्था छ । संघीय सरकार र प्रदेश सरकारहरुले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गरेपछि बजेट पेश गर्ने कानुनी व्यवस्था छ । सरकारले तयार गर्ने नीति तथा कार्यक्रमलाई देश विकासको एक वर्षसम्मको ऐना मान्ने गरिएको छ । नीति तथा कार्यक्रमकै आधारमा बजेट बन्ने भएकाले नीति तथा कार्यक्रमलाई निकै महत्व दिने गरिएको भए पनि सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीमात्र भइरहेको आरोप लाग्ने गरेको छ । संवैधानिक प्रावधान पूरा गरेर सामान्य औपचारिकता पूरा गर्नकै लागि नीति तथा कार्यक्रम ल्याइने गरिएकाले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम उस्तै हुने गरेको पाइन्छ ।
वर्षेनि वार्षिक बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पास गर्नैपर्ने परम्परा धान्न सरकारले नीति तथा कार्यक्रम ल्याउनै पर्छ । सरकारले एक वर्षसम्म वा त्यो भन्दा बढी समयसम्म के कस्ता नीति निर्धारण गर्ने र कस्ता कार्यक्रम कार्यान्वयन गर्ने भन्ने मुख्य दस्तावेज सरकारको नीति तथा कार्यक्रम नै हो । तर, सरकारले ल्याउने गरेको नीति तथा कार्यक्रम प्रभावकारी हुने गरेको छैन । अधिकांश नीति तथा कार्यक्रम भाषणजस्तै हुने गरेका छन् । सरकारले नीति तथा कार्यक्रममा उल्लेखित कुराहरु कति पूरा गर्न सक्यो वा सकेन भन्ने कुनै लेखाजोखा गर्दैन । नीति तथा कार्यक्रम एकातिर, सरकारले ल्याउने बजेट अर्कोतिर अनि सरकारले गर्ने काम झन अर्कैतिर हुने गरेको पाइनछ । हरेक वर्ष आकर्षक नाराहरु दिएर सरकारले नीति तथा कार्यक्रमलाई आकर्षक बनाउने गरेको भए पनि यसको कार्यान्वयन पक्ष फितलो बन्ने गरेको छ । अत्यन्त महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएर आम नागरिकलाई आशा देखाउनुबाहेक सरकारले खासै केही गर्न सकेको पाइँदैन ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पनि विगतको भन्दा खासै अन्तर छैन । राष्ट्रपतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम आज आइतबारबाट संसदमा छलफल गरेर पारित गरिन्छ । नीति तथा कार्यक्रम पारित गरेर आगामी जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्दछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम १८८ बुँदामा समेटिएको छ । सरकारले विगतको जस्तै नीति तथा कार्यक्रम ल्याएको कारण कमजोर बन्दै गएको अर्थतन्त्र सुधार हुने आशा कमजोर बनेको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अर्थतन्त्रका विद्यमान समस्या समाधानमा केन्द्रित नभई आकर्षक नारामा मात्र सिमित देखिएको छ ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले साधारण खर्च कटौती गर्ने, रुग्ण उद्योग सुचारु गर्ने, प्रत्येक पालिकामा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ । प्रत्येक प्रदेशमा मेडिकल कलेज खोल्नेदेखि महत्वाकांक्षी कार्यक्रमहरु थुप्रै समावेश गरेको छ । राम्रो नीति तथा कार्यक्रम ल्याउने सरकारको प्रयत्न रहने गरेको भए पनि यसको कार्यान्वयनमा भने पर्याप्त ध्यान गएको पाइँदैन । योजना र कार्यक्रम आकर्षक ल्याउने तर कार्यान्वयन कमजोर हुने कारण नीति तथा कार्यक्रमले सार्थकता पाउन सकेको छैन । अधिकांश नीति तथा कार्यक्रम सुन्दा राम्रो लागे पनि कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ । नीति तथा कार्यक्रमको सार्थकता कार्यान्वयनबाट देखिने भएकाले सहजै कार्यान्वयन गर्न सकेमा सरकारको नीति तथा कार्यक्रम राम्रो मान्न सकिनेछ । अन्यथा सरकारको नीति तथा कार्यक्रम अर्थहीन हुनेछ ।