मनिषा लामा र गीतादेवी यादव अभिभावक, ज्ञानदा मावि, हेटौंडा–१०

नयाँ शैक्षिक सत्र २०८० को भर्ना अभियानको कार्यक्रम अन्तिम चरणमा छ । विद्यालयमा नियमित पठनपाठन सुरु भइसकेको छ । नयाँ शैक्षिक सत्र सुरुवात भइसकेपछि विद्यालयको गतिविधिमा अभिभावकको निगरानी कस्तो छ, अभिभावकको जिम्मेवारी र भूमिकाका विषयलाई लिएर हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयका अभिभावक मनिषा लामा र गीतादेवी यादवसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः आफ्नो बालबालिकालाई कसरी राम्रो शिक्षित दिन सकिन्छ भन्ने सोँच्नुभएको छ ? तपाईका योजना के छन् ?
मनिषाः आफ्नो बच्चा शिक्षित हुनु र नहुनुमा विद्यालय र शिक्षक शिक्षिका सँगसँगै अभिभावकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । बच्चाहरु विद्यालयबाट पढेर घर आइसकेपछि दिनभरि पढेको कुराहरु सोधपुछ गर्ने होमवर्कहरु चेक गर्ने घरमा पनि पढ्नलाई प्रेरित गर्ने गर्नु पर्छ । कम्तिमा पनि महिनामा एक पटक स्कुल गएर आफ्नो बच्चाको पढाई, उसको क्रियाकलामहरु के कस्ता छन् भनेर अभिभावकले सोधपुछ गर्नु पर्छ । स्कुल र शिक्षक शिक्षिका जस्तै अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्यो भने बच्चाको पढाई राम्रो हुन्छ ।

समाजः तपाईको विचारमा शिक्षाको महत्व किन रहेको छ ।
मनिषाः
शिक्षाको महत्व धेरै छ । एउटा सामान्य कार्यालय सहयोगीको जागिर खान पनि १२ पास हुनु पर्छ । पढाई भए सबथोक हुन्छ ।

समाजः तपाईले आफ्नो बच्चाहरुलाई पढ्न, सिक्न, केही नयाँ कुरा थाहा पाउन कसरी प्रोत्साहित गर्नु हुन्छ ।
गीतादेवीः
पढ्नु पर्छ । पढाई नै सबैकुरा हो अहिले । पढाई भएन भने भोलि गएर आफ्नो क्षमता हुँदा हुँदा पनि पछि पर्न सक्छ । बोल्न जति ट्यालेन्ट भए पनि जति सुकै बलवान भए पनि शिक्षाको हकमा लेखेरै बोल्नु पर्छ । त्यस कारण पनि शिक्षा एकदमै महत्वपुर्ण छ भनेर म बुझ्छु त्यसैले बच्चाहरुलाई पनि यी नै कुराहरु सिकाउने गर्छु । किनभने म आफु पनि कुनै योग्यताको प्रमाणपत्र प्राप्त मान्छे होईन ।

समाजः तपाईको बच्चाहरु पढिरहेका छन्, छैनन् कसरी निरीक्षण गर्ने गर्नु भएको छ ?
मनिषाः
बिद्यालयबाट आउने बित्तिकै हात मुख धोएपछि तिनीहरुको होमवर्क के छ ? यदि छैन भने पनि किताबको अन्य पाठहरु पढ भन्छु । किनकि किताबमै प्रश्न अनि प्रश्नको उत्तर हुन्छ । सरहरुले पनि अन्यत्रबाट उत्तर ल्याउने होईन । त्यसैले पढ्ने बानी गर भनेर सिकाउँछु ।

समाजः तपाईले आफ्नो बच्चाहरुको उच्च शिक्षाका लागि के सोच्नु भएको छ ?
मनिषाः
हामी अभिभावक भएर सोँच्दा त उच्चस्तरमै सोच्छौं । डाक्टर, ईन्जिनियर बनिदिए हुन्थ्यो । पाईलट नै भैदिए हुन्थ्यो । सामान्य त केहि सोच्दै सोच्दैनौँ । हामी अभिभावकले सोचेर मात्र पनि हुँदैन । आफ्नो बच्चाहरुको के सोच छ, केमा रुचि छ, कुन बाटोमा जाने हो, के पढ्दा मलाई सहज हुन्छ, केमा मेरो ट्यालेन्ट छ, भन्नेमा चै निर्भर गर्छ जस्तो लाग्छ मलाई । हामीले सोचेर भन्दा पनि उनीहरुको सोचमा हिँड्नु पर्छ जस्तो लाग्छ ।

समाजः आफ्नो बच्चाहरुले पढाईमा ध्यान नदिँदा के गर्नु हुन्छ ?
मनिषाः
मेरो नानी दुईवटा छन, जुम्ल्याहा हो । उनीहरु शिशु कक्षादेखि ज्ञानदा माविमा पढ्दै आएका छन् । अहिले दश कक्षामा पढ्दै छन् । सानै उमेरदेखि मिलेर बस्ने मिलेर पढ्ने कुनै पनि कामका लागि साथी नै चाहिएन । अरुको बच्चाको होमवर्क छैन भनेको सुन्छु तर मेरो नानीहरु पढेको, लेखेको देख्छु । बरु पढाई भ्याएर मलाई भान्छाको काममा पनि सहयोग गर्ने गरेका छन् । सानैदेखि अहिलेसम्म उनीहरुलाई पढ भनेर भन्नु परेको अवस्था नै छैन ।

समाजः तपाईका बच्चा कत्तिको पढ्छन् भनेर शिक्षकहरुले कस्तो प्रतिक्रिया दिने गर्नु भएको छ ?
मनिषाः
शिक्षकहरुलाई धेरै धन्यवाद । वहाँहरुले अहिलेसम्म राम्रो पढाईदिनु भएको छ । म चैं एकपटक मात्र नभएर महिनामा दुई पटकसम्म स्कुल गएर शिक्षकहरुसँग कुराकानी गर्ने गरेकी छु । स्कुल जान नभ्याउँदा फोनबाटै सोध्ने गरेकी छु । उनीहरुको कक्षा अनुसारकै सकेसम्म प्रत्येक शिक्षकलाई सोध्छु । वहाँहरुले नानीहरुको पढाई राम्रो छ भन्नु हुन्छ तर अन्तरक्रिया गर्न अलि कमजोर हो कि भन्नु हुन्छ ।

समाजः आफ्ना बालबालिकालाई कसरी प्रोत्साहित गर्नुहुन्छ ?
गीतादेवीः
पढाइको महत्व बुझाउँदै, भोलिका दिनमा आफ्नो भविष्य राम्रो हुन्छ भनेर पढ्न प्रेरित गर्छु । तिमीहरुलाई केहि कुराको अभाव हुन दिन्न, पढाइमा ध्यान लगाएर पढ, भोलि गएर एउटा योग्य व्यक्ति बन भनेर भन्छु । आफ्नै मात्र बच्चालाई नभई टोल छिमेकको नानिबाबुहरु लाई पनि पढ्नु पर्छ भनी प्रोत्साहित गर्छु ।

समाजः आफ्ना बालबालिकाको पढाइ कस्तो छ ?
गीतादेवीः
मेरा नातिनिहरु तीन वटा नै यही विद्यालयमा पढेका हुन् । दुइ वटा नानी राम्रो भएर उच्च शिक्षाको तर्फ छन् । एक जना नातिनि कक्षा ८ मा अध्ययनरत छिन् । प्रथम हुने गर्छिन् । सबैको पढाइ राम्रो छ । यसमा विद्यालयको सबै शिक्षकको भूमिका छ । वहाँहरुको पढाउने शैलीले गर्दा पनि राम्रो भएको हो । त्यहाँका अरु विद्यार्थीहरु पनि राम्रो पढेको देखीन्छ ।

समाजः ज्ञानदा मावि पूरा नेपाली मध्यमको विद्यालय हो । किन नेपाली माध्यममा पढाउनुभयो ?
गीतादेवीः
आफु नेपाली भएर नेपाली माध्यममा पढाउनु पर्छ । अङ्ग्रोजी त एउटा भाषा मात्र हो । भाषा जाने पुग्छ तर नेपाली भनेको बुझ्ने आधार हो । अहिलेको समयमा अङ्ग्रेजी मध्यमका विद्यालय धेरै छन् । तर हामीले योग्य शिक्षक सरकारी विद्यालयमा पाउँछौ । सरकारले अनुदान दिएर सरकारी विद्यालयमा धेरै राम्रो भवन बनिसकेका छन् । योग्यता र दक्षता भएको नेपाली शिक्षकले पढाउने भएकोले आफुले नेपाली माध्यममा पढाएँ । निम्न वर्गको मानिसहरुले पढाउने मात्र नभई अरुले पनि नेपाली माध्यममा पढाऔं भन्न चाहान्छु ।