सविना गिरी, शिक्षक प्रगति माध्यमिक विद्यालय

शैक्षिकसत्र २०७९ सकिएर शैक्षिकसत्र २०८० सुरु भइसकेको छ । विद्यालयहरुमा गत शैक्षिकसत्रको समीक्षा गर्दै सुरु भएको शैक्षिकसत्रको योजना बनाएर कार्यान्वयन गर्ने चरणमा छ । अघिल्लो शैक्षिक सत्रको उपलब्धी र असफलतालाई समीक्षा गरेर चालु शैक्षिकसत्रका लक्ष्य निर्धारण गर्ने र आगामी दिनमा राम्रो शैक्षिक उपलब्धी हासिल गर्नका लागि विद्यालय प्रशासनले सक्दो तयारी गरेको देखिन्छ । यसैसन्दर्भमा गत शैक्षिकसत्र र चालु शैक्षिकसत्रको विषयमा रहेर हेटौंडा–९, लामसुरेस्थित प्रगति माविकी शिक्षक सविना गिरीसँग समृद्ध समाज दैनिककी संवाददाता सुप्रभा चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाको नतीजा कत्तिको सन्तोषजनक पाउनुभयो ?

गिरीः विगत केही वर्षदेखि कोरोना महामारीले विद्यालय क्षेत्रमा पारेको प्रभाव अझै केही हदसम्म बाँकी नै छ । कोरोनाको समयमा हामीले भर्चुल कक्षाहरु सञ्चालन गरेका थियौँ । भर्चुल कक्षामा धेरै विद्यार्थीलाई विभिन्न समस्याले गर्दा समेट्न सकेनौँ । जसले गर्दा विद्यार्थीको नतीजामा नकारात्मक प्रभाव देखेका थियौँ । तर अहिलेको नतीजालाई हेर्दा पहिलाको भन्दा सन्तोषजनक नै छ तर अपेक्षाअनुसार चाहीँ राम्रो छैन ।

समाजः सामुदायिक विद्यालयका विद्यार्थीहरु अंग्रेजी विषयमा कमजोर हुनुको कारण के हो र तपाईको विद्यालयको विद्यार्थीहरु अंग्रेजी विषयमा कस्तो पाउनुभएको छ ?

गिरीः अंग्रेजी भनेको एउटा भाषा हो । जति बोल्यो त्यति राम्रो हुँदै जान्छ । प्रगति मावि सामुदायिक विद्यालय भए तापनि अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुन्छ । अंग्रेजी माध्यममा कक्षा एकदेखि नै सबै विषयहरु अंग्रेजी माध्यमबाट नै पढाई हुने तर नेपाली माध्यममा जम्मा एउटा विषय मात्र अंग्रेजी हुने र बाँकी सबै नेपाली भाषामा हुने भएकाले अंग्रेजी माध्यमका विद्याथीहरु भन्दा नेपाली माध्यमका विद्यार्थीहरु अंग्रेजीमा कमजोर भएको देखिन्छ । हाम्रो विद्यालयमा नर्सरीदेखि कक्षा सातसम्म अंग्रेजी माध्यमबाट पढाई हुन्छ भने कक्षा ८, ९ र १० कक्षासम्म नेपाली माध्यममा पढाई हुने गरेको छ । अंग्रेजी माध्यमको विद्यार्थी र नेपाली माध्यमको विद्यार्थी बीचको तुलना गर्दा केही मात्र फरक पाउन सकिन्छ । समग्रमा हेर्ने हो भने प्रगति माविका सबै विद्यार्थीहरुको अंग्रेजी विषय राम्रै देखिन्छ ।

समाजः तपाईले विद्यार्थीलाई अंग्रेजी विषय कसरी सिकाउँदै हुनुहुन्छ ?

गिरीः मैले कक्षामा प्रोजेक्टरबाट पढाउँछु तर ग्रामरहरु प्रोजेक्टरबाट मात्र सम्भव नभएकोले बोर्डमा लेखेर पनि बुझाउने गरेकी छु । सम्भव भएसम्म कक्षामै कक्षाकार्यहरु दिएर, म्यासेन्जर ग्रुपमा होमवर्क पठाएर अभ्यास गराउँछु ।

समाजः तपाईको विद्यालयको विद्यार्थीका अभिभावकहरुले आफ्नो बालबालिकाको पढाईप्रति कत्तिको चासो देखाउनुभएको पाउनुभएको छ ?

गिरीः धेरैजसो विद्यार्थीका अभिभावकहरुले आफ्ना बालबालिकाको पढाईप्रति एकदम धेरै चासो राख्नुभएको छ । समय–समयमा उहाँहरुले विद्यालयमा आएर विषय शिक्षकहरु र प्रधानाध्यापकसँग भेटेर आफ्नो बालबालिकाको पढाईप्रति चासो लिइरहनुहुन्छ । धेरै दिनसम्म कक्षामा उपस्थित नभएका विद्यार्थीहरुका अभिभावकलाई फोन गरेर सोधबुझ गर्छाँै तर कतिपय विद्यार्थीहरुले आफ्ना अभिभावकको नम्बर नै गलत दिने भएकोले अभिभावकसँग सम्पर्क हुनै सक्दैन ।

समाजः अभिभावकले आफ्ना बालबालिकालाई पढाइमा कसरी सहजीकरण गर्न सक्छ ?

गिरीः कतिपय अभिभावकहरु आफ्ना बालबालिकालाई जति पढ भनेपनि नपढेको र यसको कसरी समाधान गर्ने होला भनेर गुनासो गर्न विद्यालयमा आउनुहुन्छ । तर मेरो विचारमा सबै विद्यार्थीलाई पढाइमा नै रुचि हुन्छ भन्ने हुँदैन । त्यसकारण अभिभावकले आफ्ना बालबालिकाको रुचि, क्षमता र चाहना बुझेर त्यसैअनुसारको हौसला तथा उत्पे्ररणा दिन सक्नुपर्छ । कहिलेकाहीँ घुम्न लग्ने, घरको कामहरु सिकाउने जस्ता कार्यहरुमार्फत हौसला दिनुपर्छ ।

अभिभावकले आफ्ना बालबालिकालाई मोबाइलको लतबाट कसरी छुटाउन सकिन्छ ?

गिरीः अहिलेको सूचना प्रविधिको जमानामा मोबाइलबाट नै टाढा बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । आफ्ना बाबुनानीलाई अभिभावकले निश्चित समयसम्म मोबाइल चलाउन पनि दिनुपर्छ । तर आफ्नो बालबालिकाले मोबाइलमा के कस्ता कुराहरु हेर्छन् भनी अभिभावकले अप्रत्यक्ष रुपमा निगरानी गर्नुपर्दछ । आफ्ना बालबालिकालाई क्षमताअनुसारको घरको जिम्मेवारी पनि दिनुपर्दछ । जसले गर्दा उनीहरु केही समय भएपनि मोबाइलबाट टाढा हुनुका साथै उनीहरुलाई आफ्नो जिम्मेवारीबोध हुन्छ ।