राजनीतिक अस्थिरता र प्रशासनिक बेथितिले आम सर्वसाधारण नागरिकले अनेकन समस्याहरु झेल्नु परिरहेको छ । अशान्ति, असुरक्षा, महंगी, बेथिति, विसंगति, भ्रष्टाचार, दण्डहीनता आम नेपालीहरुले भोग्दै आएका जटिल समस्या हुन् । महङ्गो मूल्य तिरेर पनि गुणस्तरहीन वस्तु तथा सेवा उपभोग गर्न नपाउनु हाम्रो विडम्बना हो । दैनिक आवश्यकताका वस्तुहरुमात्र होइन, जनस्वास्थ्यसँग जोडिएका सेवाहरुमा पनि अनियमितता भइरहनुले सर्वसाधारण मारमा पर्ने गरेका छन् । स्थानीय प्रशासन तथा सरोकारवाला निकायले समय–समयमा गर्ने अनुगमनले संवेदनशील क्षेत्रमा प्रशस्त लापरबाही भइरहेको प्रमाणित गर्दै आएको छ । अनुगमनबाट थुप्रै अनियमितता, अव्यवस्था र लापरबाही गरेको भेटिए पनि एकाधबाहेक प्रभावकारी कारबाही हुन सकेको छैन । अनुगमन र कारबाहीलाई नियमित बनाइँदा पनि सेवाप्रदायक र सेवाग्राही दुबैलाई सचेत बनाउने भएकाले यसको निरन्तरता हुनुपर्दछ ।

पछिल्ला केही दिनदेखि हेटौंडाका निजी अस्पतालहरुमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा अनुगमन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रशासकीय अधिकृतको नेतृत्वमा एकीकृत अनुगमन समितिले अनुगमन गर्दा निजी अस्पतालहरुमा धेरै अनियमितता पाइएको छ । औषधी व्यवस्था विभाग वीरगञ्जको प्रतिनिधिसमेत सहभागी अनुगमन टोलीले पछिल्लो दश दिनमा हेटौंडाको सहकारी अस्पताल, सिटी अस्पताल, सन्चो हस्पिटल, मोडल हस्पिटल र चुरेहिल हस्पिटलको अनुगमन गरेको छ । चैत ९ गते बिहीबार मकवानपुर सहकारी अस्पताल र सिटी अस्पतालमा अनुगमन गरिएको थियो । गत सोमबार सन्चो हस्पिटलमा गरिएको अनुमगनमा इजाजत नलिई प्रयोगशाला सञ्चालन गरेको, अस्पतालको फार्मेसी नवीकरण नगरिएको, दुई वर्षदेखि करचुक्ता नगरिएको पाइएको थियो । साथै, अस्पतालको इमर्जेन्सीमा म्याद गुज्रिएको औषधीसमेत पाइएको थियो ।

गत मंगलबार हेटौंडाको मोडेल अस्पतालमा गरिएको अनुगमनमा अस्पतालले पहिलाभन्दा सुधार गरेको भए पनि महिला र पुरुषलाई छुट्टै शौचालय नभएको, नार्कोटिन औषधी बिक्री गर्ने व्यवस्था प्रभावकारी नभएको र म्याद गुज्रिएका औषधी पाइएको, विपन्नलाई निःशुल्क उपचारको योजना नरहेको, सूचना अधिकारीको व्यवस्था नभएको, सेवासँगग सम्बन्धित ऐन नियमावली नबनाइएको, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको थियो । यसैगरी, चुरेहिल हस्पिटलमा गरिएको अनुमगनमा बिना दर्ता फार्मेसी सञ्चालन गरिएको, फार्मेसीमा म्याद गुज्रिएका औषधी पाइएको, दुई वर्षदेखि करचुक्ता नगरिएकोलगायत अनियमितता पाइएको थियो । अस्पतालहरुको अनुगमन गर्ने क्रममा पाइएका अव्यवस्था र अनियमिततालाई सुधार गर्न निर्देशन दिने काम अनुगमन समितिले गरेको छ । साथै, सन्चो हस्पिटलको ल्याब र चुरेहिल हस्पिटलको फार्मेसी बन्द गर्न निर्देशन दिएको छ ।

नियमनकारी निकायबाट अस्पतालको अनुगमनले सेवाग्राहीलाई सहजता प्रदान गर्दछ । अस्पतालहरुमा देखिएका धेरै प्रकारका अनियमितता तथा अव्यवस्था अन्त्य गर्नका लागि नियमित र आकस्मिक अनुगमनसँगै नियमानुसार कारबाही पनि हुनुपर्छ । यस्ता अनुगमन र कारबाहीले अस्पताल सञ्चालक तथा स्वास्थ्यकर्मीलाई सचेत बनाउँछ । अस्पतालको सेवालाई नियमित र गुणस्तरीय बनाउँदै प्रभावकारी उपचार पाउन सहयोग पुग्दछ । तर, अनुगमनलाई औपचारिकतामा सिमित गराइँदा अव्यवस्थालाई बढाउन मद्दत पुग्दछ । अनुगमन गर्ने, अव्यवस्था र अनियमितता देखाइने अनि दोषीलाई प्रभावकारी कारबाही नहुने अवस्थाले अस्पतालहरुको सेवा सहज र सुधार हुन सक्दैन । अनुगमन गरेजस्तो गरेर औपचारिकतामात्र पूरा गर्ने हो भने सेवाग्राही थप पीडित बन्ने निश्चित छ । अनुगमनको जिम्मेवारी पाएका सम्बद्ध सबै पक्षको संलग्नतामा उचित संयन्त्र निर्माण गरी प्रभावकारी अनुगमन गरी अस्पतालहरुमा देखिएका अनियमितताहरुको अन्त्य आवश्यक छ ।