हेटौंडाः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं बैठक नवलपरासीको रामग्राममा सम्पन्न भएको छ । महासंघले रुपन्देहीको लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ समेत गरेको छ ।
बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको छ । पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने घोषणापत्रको उल्लेख गरिएको छ ।
सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डमा प्राप्त सुझावलाई समेटेर अन्तिम रुप दिने र प्रस्तावित तालिकाअनुसार नै काम गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै, पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरुलाई सदस्यता परित्यागका लागि आग्रह गरिएको छ ।
आउँदो महाधिवेशनभन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदान गर्न पाउने व्यवस्थालाई कार्यान्वयन गर्ने, तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनुपर्ने सञ्चार सम्बद्ध कानुनहरु नबनेकोप्रति महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गरेको जनाइएको छ । श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानुनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिका लागि सरकार र सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिएको छ । सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गरिएको छ ।
पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकैरुपमा अघि बढाउने घोषणा गरिएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अस्तुधातूमध्येको एक अस्तुधातू रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावलीस्थल देवदह क्षेत्रको प्रचारप्रसार, सम्बद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी विकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई आग्रह गरिएको घोषणापत्रमा उल्लेख छ ।