हेटौंडाः नेपालका ठूला बजारमा स–साना पुस्तक पाइने पसल भेटिन निक्कै सोधिखोजी गर्नुपर्छ । पुस्तक पसल भेटिहाले राम्रा पुस्तक भेटिन गाह्रो छ । आम मानिसमा पठन संस्कृति छैन भने नाफा नहुने व्यापारमा निजी क्षेत्रको ध्यान पनि जाने अवस्था रहेन । तर, केही समय यता देशका केही सहरमा पठनसंस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले आकर्षक पुस्तक पसल स्थापित हुने, पुस्तकको प्रचार, चर्चा गर्ने क्रम सुरु भएको छ । यही क्रममा हेटौंडा–४, भैरवरोडमा हालै सञ्चालनमा आएको किताब पसल “किताबघर” मा शुक्रबार किताबको चर्चा भएको छ ।
पुस्तकको चर्चामा सहभागी हुनुहुन्थ्यो मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक उत्तम अर्याल । “पश्चिमाहरू पूर्वीय समाजलाई बर्बर देखाउन खोज्छन् ।” अर्याल भन्दै हुनुहुन्थ्यो, “त्यसैले “द काइट रनर”को सामान्य कथालाई उनीहरूले यति चर्चित बनाइदिए ।” अफगानी मूलका अमेरिकी लेखकको सन् २००३ मा प्रकाशित पुस्तक “द काइट रनर” का बारेमा अर्यालले प्रस्तुत गर्नुभएको तर्कलाई बल प्रदान गर्ने तथ्य हो, यो पुस्तक चर्चित अंग्रेजी अखबारहरू द टाइम्स, टेलिग्राफ र गार्जियनले दशककै उत्कृष्ट पुस्तकको रुपमा चयन गर्नु ।
“किताबघर”ले आयोजना गरेको “किताबको कुरा”को पहिलो अंकमा अर्यालले “द काइट रनर” माथिको आफ्ना विचार राख्नुभयो । उपन्यासको कथा एउटा बाह्र बर्षीय बालकको आमिरको चङ्गा प्रतियोगिता जित्ने ध्याउन्नमा केन्द्रित छ । उनलाई हरतरहले सहयोग गर्न कस्सिएका छन् उनका अतिनै सहयोगी साथी हसन । आमिरको यो ध्याउन्नका बीच रुसी हमला हुन्छ, आमिरको परिवार देश छोडेर अमेरिका पलायन हुन्छ । खेदिएर नेपाल आएका हजारौँ भुटानी शरणार्थीहरूको जस्तै, बङ्गाली रोहिङ्गाहरूको जस्तै नेपाली जनमानसले अनुभव गरिराखेकै कथा हो “द काइट रनर” । तर अलिकति फरक मुस्लिम परिवेशमा जोडिएको । यही कथामा पश्चिमा देशहरूको राजनीतिक अभिष्ट गाँसिएपछि यो उपन्यास दशककै उत्कृष्ट पुस्तकको रुपमा चुनियो । तत्कालिन परिवेशमा नब्बे लाखभन्दा बढी प्रति बिक्री पनि भयो ।
अर्यालकै शब्दमा एउटा सामाजिक परिवेशको कथावस्तुले पश्चिमाहरूको राजनीतिक अभिष्ट पूरा गर्न सहयोगी भूमिका निर्वाह गर्यो । नेपालमा पनि विशेषगरी युवापुस्ताले त्यतिबेलै खुब रुचीका साथ यो कृति पढे र मन पराए पनि । तर हामीकहाँ भने त्यो राजनीतिक अभिष्टभन्दा पनि विशुद्ध भाषाको मोह र साहित्यको आनन्दका लागि यो पुस्तक पढियो । आज पनि “द काइट रनर” नेपाली पाठकहरूका माझ उत्तिकै चर्चित छ । “किताबका कुरा” कार्यक्रमको अन्त्यमा किताबघरका तर्फबाट अर्याललाई मायाको चिनोस्वरुप लोइस लोरीको पुस्तक “गिभर” प्रदान गरिएको थियो । किताबघरले मासिक रुपमा कम्तिमा दुईपटक यसप्रकारका कार्यक्रम आयोजना गर्ने जनाएको छ ।